खाँदबारी कारागार भित्र कवि गोष्ठि




खाँदबारी । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा जिल्ला कारागार खाँदबारी भित्र कविता गोष्ठि आयोजना गरिएको छ । जिल्लाको मकालु साहित्य समाजको आयोजनामा कैदिबन्दीहरुलाई लक्षित गरि कविता गोष्ठिको आयोजना गरिएको हो ।

गोष्ठिमा कविता प्रतियोगिताको समेत आयोजना गरिएकोे छ । प्रतियोगितामा ६ जना कैदीबन्दीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा देव गुरुङ प्रथम हुनुभएको छ भने सुनिता राई द्वितिय र सुजन विश्वकर्मा तृतिय हुनुभएको छ । सुधार गृहको आवाज शिर्षकमा सञ्चालन गरिएको उक्त कार्यक्रम कैदीबन्दीहरुमा सकरात्मक सोँचको विकासमा सहयोग पुराउने उद्देश्यले आयोजना गरिएको मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताउनुभयो । कार्यक्रमले उनीहरुमा ‘रिफ्रेसमेन्ट’ को काम गरेको बुढाथोकीले दावी गर्नुभयो ।

प्रतियोगितामा समाजका अध्यक्ष बुढाथोकी र उपाध्यक्ष तथा साहित्यकार भरत भरियाले रचना प्रस्तुत गर्नुभएको थियो । बुढाथोकीले कविता सुनाउनुभएको थियो भने भरत भरियाले हाईकु र ताङ्का सुनाउनुभएको थियो । भरियाले हाईकु र ताङ्का लेखनको सामान्य नियमहरु समेत कैदिबन्दीहरुलाई सिकाउनुभएको थियो ।

कैदी जीवन विताईरहेकाहरु कै लागि साहित्यिक कार्यक्रमको अयोजना गरेर रचनात्मक काम गरेको भन्दै कारागारका जेलर विनोद अधिकारीले आयोजकको प्रसंसा गर्नभयो । यस्तो कार्यक्रमले विभिन्न कसुरमा सुधार गृह भित्र रहेका नागरिकहरुले पनि सामान्य मानिस सरह भएको अनुभुति गराउने बताउनुभयो । आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमको आयोजना गर्न सके राम्रो हुने उहाँको भनाई छ ।

कागारगारमा सिमिति ब्यक्तिहरुलाई मात्र प्रवेश गराईएको थियो । कार्यक्रम गर्नको लागि ३ जना आयोजक र ३ पत्रकारहरुको उपस्थिती रहेको थियो । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा हाल एक सय ७ जना रहेका छन् । जसमा एक सय पुरुष रहेका छन् भने बाँकी ७ जना महिला रहेका छन् । त्यस मध्ये ३ जना विप्लप समुहका कार्यकर्ताहरु रहेका छन् ।

सम्बन्धित समाचार