खाँदबारी बजारमा एक थुंगा फुललाई दश रुपैयाँ




खाँदबारी । यस बर्षको तिहारमा सङ्खुवासभामा सयपत्री फुलको अभाव देखिएको छ । जिल्लामा ब्यावसायीक पुष्प खेती नगर्ने तर खरिद गर्नेहरुको सङ्ख्या बढ्दा फुलको अभाब भएको हो ।

सनिबार लाग्ने हाटमा फुल किन्ने योजना बनाएकाहरु अधिकांसले किन्न पाएनन् । केहीले साना साना मुठा बनाएर बेच्न राखेको सयपत्री फुल विहानै सकिएपछि अधिकांस रित्तै फर्किएका छन् । बजारमा पर्याप्त फुल नहुँदा थोरै मात्रामा रहेको फुलको महँगो मुल्य तिर्नु परेको हो । ८ देखि १० थुंगा फुलको एउटा मुठा बनाएर सय रुपैयाँमा विक्रि गरिएको थियो । यसरी खरिद विक्रि भएको फुलको मुल्य करिव प्रति थुंगा दश रुपैयाँ परेका छ । बजारमा फुल नभएपछि तरकारीसँगै थोरै मात्रामा बेच्न राखिएको सयपत्री फुल महँगो शुल्कमा किन्न बाध्य भएका हुन् ।

मखमली फुल भने खाँदबारी १ का बुद्धि राईले पुग नपुग एक रोपनीमा लगाएको फुलले धेरैलाई राहत पुराएको छ । राईले प्रतिमुठा सय रुपैयाँ मुल्य राखेर तीन सय मुठा विक्रि गर्न सनिबारे हाट ल्याउनुभएको थियो । राईले विक्रि गर्न ल्याउनुभएको मखमली फुलले सवैलाई नपुगे पनि धेरैलाई रित्तो हात फर्कनु परेन । फुल किन्नेहरुले मखमली फुलको पनि मुल्य केही महँगो भएको बताएपनि सहज रुपमा फुल पाएका छन् ।

गत बर्ष पनि सङ्खुवासभामा फुलको अभाव हुने सम्भावना भएपछि धनकुटाका पुष्प ब्यावसायीहरुले ट्रकबाट फुल ल्याएर विक्रि गरेका थिए । अघिल्लो बर्ष चाहेजत्ति सुलभ मुल्यमा फुल पाएका स्थानीयले यस बर्ष पनि सोही अपेक्षा गरेका थिए । तर यस बर्ष अन्य जिल्लाबाट फुल नभित्रिएपछि अभाव बढेको हो । यस बर्ष तिहार चाँडो भएकोले फुल फल्न नपाएकोले पनि बजारमा फुलको अभाव बढेको हो ।

सङ्खुवासभामा हालसम्म कसैले पनि ब्यावसायीक रुपमा पुष्प खेती गरेका छैनन् । पुष्पखेतीको लागि कुनै स्थानीय सरकारले पनि प्राथमिकतामा राखेको छैन । पुष्पखेतीको क्षेत्रमा कसैले पनि चासो नदिदा केही बर्षदेखि यता बजारमा फुलको अभाव खड्किदै आएको छ । फुलको उच्च माग भईरहदा यसको ब्यावसायिक खेती लगाए राम्रो आमदानी हुनसक्ने प्रष्ट देखिन्छ ।

सम्बन्धित समाचार