हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड सङ्कलन



सोलुखुम्बु । शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् ।

आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । जसमध्ये सबैभन्दा बढी २७ समूहका ३१६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट रु एक कारोड ४० लाख ३६ हजार ३०० रोयल्टी सङ्कलन भएको छ ।

सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै रु दुई करोड ७० लाख ८५ हजार ६०० रोयल्टी सङ्कलन भएको निरौलाको भनाइ छ । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी सङ्कलन भएको छ । उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन् । यता थापा पिक आरोहण अनुमतिबाट रु ११ लाख ८९ हजार ३१२ सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।

सम्बन्धित समाचार