मकालु गाउँपालिकाका मतदान केन्द्रहरु अति संबेदनशिल




खाँदबारी । आसन्न निर्वाचनमा महत्वका साथ हेरिएको मकालु गाउँपालिकाको मतदान केन्द्रहरु सुरक्षाको हिसावले अति संवेदनशिल बर्गमा परेका छन् । मकालु गाउँपालिकाका सवै मतदान स्थलहरु सुरक्षा समितिले अति संवेदनसिलमा राखेका हुन् ।

मकालु गाउँपालिका भौगोलिक विकटताका कारण अति संवेदनसिल क्षेत्रमा राखिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । त्यस क्षेत्रमा संकास्पद घटनाहरु हालसम्म नरहेपनि भौगोलिक हिसावले अति दुर्गम भएकोले अति संवेदनसिल क्षेत्रको रुपमा राखिएको उहाँले बताउनुभयो । दुर्गम क्षेत्रमा जतिखेर पनि घटना हुनसक्ने भएकोले त्यस्तो स्थानलाई अति संवेदनसिल क्षेत्रमा राखिने गरेको उहाँले स्पष्ट पार्नुभयो ।

सङ्खुवासभाको अर्को निर्वाचन क्षेत्र खाँदबारी नगरपालिकाको ३ नम्बर वडा भने सुरक्षाको आधारमा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी दुलालले बताउनुभयो । यस क्षेत्र जिल्लाका सदरमुकाम भित्र रहेकोले कुनै सुरक्षा चुनौती नभएको उहाँले जानकारी दिनुभयो ।

सङ्खुवासभामा दुई निर्वाचन क्षेत्रको लागि करिव ४ सय सुरक्षाकर्मी आवश्यक पर्ने समेत प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनुभयो । अधिकारीका अनुसार निर्वाचन क्षेत्रको मतदान केन्द्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने छन् । जसको लागि माथिल्लो निकायमा सुरक्षा जनशक्ति माग गरिसकिएको छ ।

गाउँपालिका अध्यक्षको निर्वाचनका लागि मकालु गाउँपालिकामा १३ वटा मतदान केन्द्र तोकिएको छ भने वडा अध्यक्षको निर्वाचन हुन लागेको खाँदबारी ३ मा २ वटा केन्द्र तोकिएको छ । मकालुमा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी ३ मा १ हजार ८ सय २२ जना रहेका छन् ।

सम्बन्धित समाचार