ब्लड क्यान्सर पिडितलाई खाँदबारी अस्पताल परिवारको सहयोग



सहयोग रकमको भौचर विरामीको बुवालाई हस्तान्तरण गर्दै अस्पताल परिवार ।

खाँदबारी । खाँदबारी १ का ७ बर्षिय घनेन्द्र बुढाथोकीलाई जिल्ला अस्पताल खाँदबारीका सञ्चालक समिति र कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् । ब्लड क्यान्सर भई कान्ति बाल अस्पताल काठ्माण्डौमा उपचार गराईरहेका बुढाथोकीलाई अस्पताल परिवारले ४३ हजार २ सय ७० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

न्युन आयश्रोत भएको बुढाथोकीको उपचारमा आर्थिक अभाव भएपछि अस्पताल ब्यवस्थापन समितिका पदाधीकारीहरु र कर्मचारीहरुले ब्यक्तिगत रुपमा उक्त रकम सङ्कलन गरेर हस्तान्तरण गरेका हुन् । अस्पतालमा संक्षिप्त कार्यक्रमको आयोजना गरि अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यको टोलीले उक्त रकम हस्तान्तरण गरेका हुन् । सो रकम ५५ जना अस्पताल परिवारबाट सङ्कलन भएको अस्पताल प्रसासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । बिरामी बुढाथोकीको उपचार सम्भव भएपनि आर्थिक अभावको कारण उपचारमा समस्या भएपछि बिरामीको परिवारले सहयोगको याचना गरेका थिए ।

बुढाथोकीको सफल उपचार गर्न करिव ३० लाख रुपैयाँ लाग्ने अस्पतालले बताएको बिरामीका बुवा सेमन्त बुढाथोकीले बताउनुभयो । विभिन्न माध्ययमबाट सहयोगको याचना गरेपछि केही सहयोग रकम उठ्न थालेकोले आफ्नो छोराको उपचार हुनेमा आशा पलाउन थालेको समेत बुढाथोकीले बताउनुभयो । सहयोग रकम बुझिलिदै सवैले सहयोग गरेर आफ्नो छोराको जीवन बचाईदिन आग्रह समेत गर्नुभयो ।

गत असोज २५ गते बिरामी भएर उपचार गराउन आउनुभएको बुढाथोकीलाई क्यान्सर भएको आसंकापछि काठ्माण्डौ पठाईएको थियो । कान्ति बाल अस्पताल पुगेर परिक्षण गर्दा क्यान्सर भन्ने प्रमाणीत भएको खाँदबारी अस्पतालले जनाएको छ । बिरामी बुढाथोकीको आमा गीतादेवी घिमिरेले केही बर्षअघि खाँदबारी अस्पतालमै कार्यालय सहयोगीको रुपमा समेत काम गर्नुभएको थियो ।

सम्बन्धित समाचार