खाँदबारीः बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई ‘बाल पोषण पोको’




खाँदबारी । जिल्लाको खाँदबारी नगरपालिकाले बर्थिङ सेन्टरमा सेत्केरी गराउने बाल पोषण पोको दिने ब्यवस्था गरेको छ । आमा र बच्चालाई कुपोषित हुनबाट बचाउने र बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याएको हो ।

बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिका भित्रका आमाले बाल पोषण पोको कार्यक्रम अन्तर्गत एकमुष्ट नगद तीन हजार रुपैयाँ उपलब्ध गराउने भएको हो । बालबालिका र आमालाई आवश्यक पर्ने पोषण युक्त खानेकुरा खरिद गर्ने सहयोग पुराउने उद्देश्यका साथ आर्थिक बर्ष २०७६/७७ को निति तथा कार्यक्रममा ल्याईएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिनुभयो । यो कार्यक्रम पश्चात बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको संख्या बढ्ने अपेक्षा रहेको खतिवडाले बताउनुभयो ।

आमा र बच्चा दुवै सुरक्षित भएर सुत्केरी गराउन निशुल्क एम्बुलेन्स सेवाको पनि नगरपालिकाले ब्यवस्था गरेको छ । खाँदबारी नगरपालिका भित्रका गर्भवती आमालाई जहाँबाट भएपनि बर्थिङ सेन्टरसम्म जानको लागि जस्को पनि एम्बुलेन्स प्रयोग गर्न सक्ने नगरपालिकाले कार्यक्रम ल्याएको हो । पायक पर्ने ठाउँमा नगरपालिकाकै एक एम्बुलेन्स निशुल्क प्रयोग गर्न सक्ने गरि कार्यविधि बनाईएको खाँदबारी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कोमल प्रसाद धमलाले जानकारी दिनुभयो । नगरपालिकाको एम्बुलेन्स उपलब्ध नभएको ठाउँमा अरु जो कोहीको एम्बुलेन्स प्रयोग गर्नसक्ने र त्यसको बिल भर्पाई नगरपालिकालाई बुझाएपछि उक्त खर्च नगरपालिकाले ब्यहोर्ने कार्यक्रम रहेको प्रमुख प्रसासकिय अधिकृत धमलाले बताउनुभयो । उक्त सेवा र सुविधा लिनको लागि बच्चाको जन्मदर्ता गराउन जादा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाण पत्र र बर्थिङ सेन्टर आउदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानु पर्ने धमलाको भनाई छ ।

नगरपालिकाको आमा र बच्चाको स्वास्थ्यमा कुनै समस्या आउन नदिन चालु आर्थिक बर्षमा यो कार्यक्रमको लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । खाँदबारी नगरपालिका भित्र जिल्ला अस्पताल सहित अन्य ३ वटा बर्थिङ सेन्टरहरु छन् । नगरपालिकाको तुम्लिङटार, सेकाहा र सित्तलपाटीमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले सुत्केरी सेवा प्रदान गर्दै आएका छन् ।

सम्बन्धित समाचार