यी हुन् विश्वका टप फाइभ मोबाइल ब्राण्ड




एजेन्सी । दक्षिण कोरियाली स्मार्टफोन ब्राण्ड सामसुङले विश्व स्मार्टफोन बजारमा आफ्नो दबदबा कायमै राखेको छ । विश्व स्मार्टफोन बजारमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको रुपमा कायमै रहने क्रममा सामसुङले चालू वर्षको जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा ७ करोड ८२ लाख गोटा स्मार्टफोन बिक्रि गर्न सफल भएको छ ।

सन् २०१८ को सोही त्रैमासिकमा सामसुङले ७ करोड ६३ लाख गोटा स्मार्टफोन बेचेको थियो । अहिले विश्व स्मार्टफोन बजारमा सामसुङको हिस्सा २१ प्रतिशत रहेको छ ।

पछिल्लो समय निकै कठीन परिस्थितिको सामना गरिरहेको चिनिया स्मार्टफोन कम्पनी हुवावेले विश्वको सर्वाधिक लोकप्रिय स्मार्टफोनको दोश्रो स्थान बचाउन सफल भएको छ । सन् २०१९ को तेश्रो त्रैमासिकमा हुवावेले ६ करोड ६२ लाख गोटा स्मार्टफोन बेचेको छ । अमेरिकी सरकारको प्रतिबन्ध तथा गुगल सँगको सम्बन्ध विच्छेदसँगै हुवावेले चीन बाहिर खासै राम्रो प्रगति गर्न नसकेपछि चिनिया स्मार्टफोन बजारमा चाहीँ आफ्नो पडक थप मजबुत बनाएको छ । चीनको आन्तरीक स्मार्टफोन बजामरमा हुवावेको बजार हिस्सा ४२.४ प्रतिशत रहेको छ ।

गत वर्षझैँ अमेरिकी कम्पनी एप्पल विश्व स्मार्टफोन बजारमा तेश्रो स्थानमा कायम छ । गत जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा एप्पलले ४ करोड ४६ लाख गोटा आइफोन बेच्न सफल भएको छ । यद्यपि यो संख्या गत वर्षको सोही अवधिको तुलनामा साढे ४ प्रतिशत कम हो । त्यस वर्ष एप्पलले ४ करोड ६९ लाख वटा आइफोन बेचेको थियो ।

विश्व स्मार्टफोन बजारमा एप्पलको हिस्सा १२ प्रतिशत रहेको छ । काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार शीर्ष तीनवटा ब्राण्ड, सामसुङ, हुवावे र एप्पलले विश्व स्मार्टफोन बजारको समग्रमा झण्डै आधा हिस्सा ओगटेका छन् ।

विश्व स्मार्टफोन बजारमा ओप्पो चौथो स्थानमा छ भने शाओमी पाँचौ स्थानमा रहेको छ । यस अवधिमा ओप्पोले ३ करोड २३ लाख वटा स्मार्टफोन बेचेको छ भने शाओमीले ३ करोड १७ लाख वटा । त्यस्तै भिभोले ३ करोड १३ लाख वटा स्मार्टफोन बेच्दै छैटौँ स्थानमा रहेको छ ।
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार