सिलिचोङ सञ्चार समस्याबाट मुक्त, जिएसएम पनि चाँडै जोड्ने




खाँदबारी । घाम डुवेपछि भोली घाम नलागेसम्म फोन सम्पर्क नहुने सिलिचोङ गाउँपालिकाको नियती सकिएको छ । सिलिचोङलाई लक्षित गरि डाँडागाउँमा राखिएको स्काई मोबाईलको टावरमा विद्युत जडान गरिएसँगै सम्पर्क विच्छेद हुने समस्या सकिएको हो ।

सिलिचोङ गाउँपालिकाको एघार लाख रुपैयाँको लगानीमा मोबाईलय टावरमा हालै विद्युत पराईएको छ । सोलारको भरमा सञ्चालनमा रहेको उक्त टावरमा सिसुवाखोला लघु जलविद्युत आयोजनाबाट विद्युत पुराईएको हो । टावरमा विद्युत पुराईएसँगै २४सै घण्टा स्काई मोबाईलको नेटवर्कले काम गर्ने भएको हो ।

उक्त विद्युत लाईनको क्षमताले भ्याए तत्कालै जिएसएमको टावर पनि थपिने सिलिचोङ २ का वडाअध्यक्ष मोहनसंशेर कुलुङले जानकारी दिनुभयो । जिएसएमको लागि टेलिकमसँग कुरा भईसकेको छ, पावरले भ्याए यही हिउँदोमा टावर थपिहाल्ने कुरा भएको छ, कुलुङले भन्नुभयो । थ्रीजी सहितको जिएसएम सञ्चालनमा आए सिलिचोङमा अनलाईन प्रयोगकर्ता बढ्ने देखिन्छ ।

दुई बर्षअघि नै सिलिचोङको सञ्चार समस्यालाई बुझेर टावर मर्मत गर्न गाउँपालिकाले बजेट छुटाएपनि दुरसञ्चार कार्यालयले अनुमती नदिएपछि काम हुन सकेको थिएन । यस पटक भने दुरसञ्चार कार्यालय धनकुटाबाट प्राविधिक झिकाएर मर्मत समेत गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो । पटक पटकको प्रयासपछि सञ्चारको समस्या समाधान गर्न आफुहरु लागिपरेको अध्यक्ष कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार