यसरी धमाधम विद्युत निकाल्दै छन् सिसुवाखोलावासी (फोटो फिचर सहित)



सङ्खुवासभा । जिल्लाकै अति दुर्गम मानिएको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय विद्युत प्रसारण लाईन पुगेको छैन । तर त्यहाँका ८५ प्रतिशत भन्दा बढी नागरिकहरु अँध्यारोमा बस्नु परेको छैन ।

पर्याप्त जलश्रोत भएको सिलिचोङ गाउँपालिकामा स्थानीय खोलानालाबाट लघु जलविद्युत उत्पादन गरेर उनीहरु उज्यालोमा बस्दै आएका छन् । उक्त विद्युत नपुगेको गाउँ सिलिचोङ गाउँपालिकाको वडा नं. १ सिसुवाखोलामा पनि लघु विद्युत निर्माणको काम धमाधम भईरहेको छ । साविक सिसुवाखोला गाविसको वडा नम्बर ४ देखि ९ सम्मको वडाहरुमा अहिलेसम्म पनि विद्युत लाईन पुगेको छैन ।

उक्त बस्तिहरुमा विद्युत नपुगेकै कारण गएको तीन बर्षदेखि स्थानीय सिसुवाखोलबाट विद्युत निकाल्ने काममा स्थानीय नागरिकहरु लागिपरेका छन् । ‘सिसुवाखोला चटेक्मा लघु जलविद्युत आयोजना’ नाम दिईएको उक्त आयोजना आगामी दुई महिना भित्र सम्पन्न हुने निर्माण समितिले जनाएको छ । बैकल्पीक उर्जा, सिलिचोङ गाउँपालिका र जनश्रमदानले ५८ किलोवाटको लघु जलविद्युत निर्माण गर्न लागिएको हो ।

विद्युत निर्माणको लागि ९४ लाख रुपैयाँ बराबरको सामग्रीहरु बैकल्पिक उर्जाले उपलब्ध गराएको छ भने गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा ३६ लाख रुपैयाँ वजेट लगानी गरेको छ । योजना सम्पन्न गर्नको लागि यस बर्ष पनि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ । हालसम्म दुई सय ९० उपभोक्ता परिवारले ५५ दिनको दरले श्रमदान गरिसकेका छन् । अब एक हप्ता जति श्रमदान गर्ने र गाउँपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ उपलब्ध भए दुई महिना भित्र योजना सम्पन्न हुने निर्माण समितिका अध्यक्ष मञ्जिल कुलुङले जानकारी दिनुभयो ।

अहिलेसम्म पावर हाउस, कुलो निर्माण, खोलामा बाँध, पोल गाड्ने, तार तन्काउने लगायतको कामहरु सम्पन्न भईसकेको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । अब फोर वे ट्याङ्की, ओभर फ्लो कुलो, घरमा वायरिङ लगायतको कामहरु बाँकी रहेको उहाँले जानकारी दिनुभयो । ‘काम ९५ प्रतिशत जति सकिसकेको छ, अव हामी विद्युत बाल्न अन्तिम तयारीमा छौं’, कुलुङले भन्नुभयो । चालु आर्थिक बर्षमा विद्युतलाई विनियोजन गरिएको बजेट तत्काल गाउँपालिकाले उपलब्ध गराए घरघरमा विजुली पुग्न समय नलाग्ने उहाँको भनाई छ ।

यो लघु विद्युत निर्माण सकिएसँगै सिलिचोङ गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को प्रत्येक घरमा विद्युत पुग्नेछ । वडा नम्बर ५ मा केन्द्रीय प्रसारण लाईन जडानको लागि पहल भईरहेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । उक्त वडामा विद्युत जडानको लागि प्रदेश र संघिय सरकारसँगको साझेदारीमा काम भईरहेको उहाँले जानकारी दिनुभयो । विद्युत पुराउन नसकिने दुर्गम गाउँहरुमा भने सौर्य बत्ती निशुल्क वितरण गरिएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

तस्विर सौजन्यः अनिस कुलुङ

सम्बन्धित समाचार