दुर्गम गाउँ ‘भोटखोला’मा पनि ईन्टरनेट सेवा



सङ्खुवासभा । जिल्लाकै अतिदुर्गम क्षेत्र भोटखोलाको हटियामा पहिलो पटक इन्टरनेट सेवा सुचारु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रा.लि.ले भिस्याट प्रविधिमार्फत ईन्टरनेट सेवा सुचारु गरेको हो ।

स्थानीय तह बनेपछि सम्पुर्ण सेवाहरु गाउँपालिकाबाट नै प्रदान गर्ने भनिएपनि ईन्टरनेटकै अभावमा नागरिकहरु सेवाबाट बञ्चित हुँदै आएका थिए । ईन्टरनेट नभएकै कारण बैंकको शाखा स्थापना गरिएपनि सेवा दिन सकिएको थिएन । ईमेल ईन्टरनेटकै असुविधाको कारण सञ्चारजन्य कार्यहरु सदरमुकाम खाँदबारीबाट प्रबाह गरिदै आएको थियो । तर, ईन्टरनेट जडान गरिएसँगै अव सम्पुर्ण सेवाहरु गाउँबाटै सुरु गरिएको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेको भनाई छ । सूचना र सञ्चारको पहुँचबाट टाढा रहेको भोटखोलामा सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दालाई समेत सूचना आदान–प्रदानमा सहजता समेत आएको अध्यक्ष भोटेको दावी छ ।

सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका सय किलोमिटरको दूरीमा छ । यस अघि इन्टरनेट सेवा सञ्चालन नहुँदा गाउँपालिका र वडाको सूचना प्रवाह, बैंकिङ सेवा सञ्चालन, कार्यालय सञ्चालन लगायत दैनिक जीवनयापनमा समस्या हुँदै आएकोमा अब सहजता मिलेको कर्मचारीहरुको प्रतिकृया छ । इन्टरनेट सेवा नहुँदा स्थानीय तह संगको बैंकिङ कारोबार शून्यप्राय थियो । भोटखोलामा ग्लोबल आईएमई बैंकले शाखा सञ्चालन भएपनि कारोबार गर्न खाँदबारी आउनु पथ्र्यो ।

अहिले जडान गरिएको इन्टरनेट सेवाको दिगोपनाका लागि अझै धेरै काम गर्न आवश्यक रहेको मर्कन्टायल कम्युनिकेशन प्रा.लि.का सङ्खुवासभा प्रतिनिधी सुगन श्रेष्ठको भनाई छ । उहाँका अनुसार उच्च हिमाली क्षेत्र भएकाले चट्याङ र हावा हुन्डरीको जोखिम उच्च छ । प्राविधिक समस्या निरन्तर आउन सक्ने हुनाले स्थानीय गाउँपालिका र स्थानीय समुदायले प्राविधिक ब्यवस्थापनमा पहल गर्न जरुरी रहेको श्रेष्ठको भनाइ छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको त्यस क्षेत्रमा अधिकांश समय मौसममा प्रतिकूलता आउने भएकाले दक्ष प्राविधिकको व्यवस्था मिलाई इन्टरनेट सञ्चालनमा निरन्तर ध्यान प¥याउन जरुरी रहेको श्रेष्ठले बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रालिमार्फत एक्सप्लोर टेक्नोलोजी प्रा.लि. सङ्खुवासभाले निःशुल्क रूपमा आवश्यक सामग्री तथा २ वर्षसम्म इन्टरनेट ब्यान्डविथ उपलब्ध गराउने जनाएको छ । सरकारको घरघरमा इन्टरनेट सेवा पुराउने लक्ष्य अनुरूप भोटखोलाका अन्य क्षेत्रहरू हुङगुङ, चेपुवा, पावाखोला, किमाथांका लगायतका क्षेत्रमा इन्टरनेट जोड्ने काम भइरहेको सेवा प्रदायक संस्था मर्कन्टायलले जनाएको छ । मर्कन्टायल कम्युनिकेसन प्रा.लि.ले सङ्खुवासभाका दशवटै स्थानीय तह, वडाकार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट सेवा सञ्चालनका लागि जम्मेवारी लिएको छ ।

सम्बन्धित समाचार