सिलिचोङः निर्माणधिन संरचना अलपत्र, भत्किएको भवनबाट सेवा प्रबाह




बाला । सिलिचोङ गाउँपालिकाको वडा नम्बर १, २ र ३ नम्बरको संगम स्थल सिसुवाटार बुधबारे पुगेपछि सडकको एक कान्ला मुनी निक्कै पुरानो भत्किदै गरेको सानो घर देखिन्छ । उक्त जीर्ण अवस्थामा रहेको भवन आयुर्वेद औषधालयको हो, अहिले त्यही भवनबाट सेवा दिईरहेको छ ।

यसरी भत्किदै गरेको जीर्ण भवनबाट स्वास्थ्य सेवा दिईएको बर्षौ भयो । पुर्वाधारयुक्त भवनको आवश्यकता महसुस नभएको भने होईन । औषधालयको भवन छेवैमा बनाउन सुरु गरिएको आधा दशक भईसक्यो । तर पिलर उठाउनु बाहेक थप प्रगती हुन सकेको छैन । एक कविराज सहित ३ जनाको दरवन्दी रहेको आयुर्वेद औषधालयको उक्त भवन कत्तिखेर भत्किने हो कुनै टुंगो छैन । भवनको ठाउँठाउँमा भत्किएको भित्तालाई कार्टुनले टालेर स्वाथ्यकर्मीहरु बस्दै आएका छन् । उक्त जीर्ण भवन मर्मत समेत नगरिदा हावा छेक्नको लागि औषधी ल्याईएको कार्टुनले टालेर बसेको कविराज सञ्जयकुमार प्रजापतीले बताउनुभयो । त्यस्तै भवनबाट भत्किएर किच्ने डर सहित सेवा दिन बाध्यता रहेको भन्दै स्वास्थ्यकर्मीहरुको मनोवल कमजोर बन्दै गएको कविराज प्रजापतिको भनाई छ ।

०७१ सालमा तत्कालिन आयुर्वेद विभागबाट जिल्ला विकास समिति हुँदै प्राप्त भएको ४० लाख रुपैयाँले केहि पिलर मात्र ठडाईएको हो । यसरी पिलर उठाएपछि नत थप बजेट प्राप्त भयो, नत स्थानीय सरकारले नै पुर्णता दियो । अहिले आएर उक्त पिलर सहितको संरचना काम नलाग्ने अवस्थामा पुगेको छ ।

यस विषयमा गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङसँग कुरा गर्दा पालिकाको प्राथमिकतामा रहेपनि प्राविधिक कारणले भवन निर्माणले पुर्णता नपाएको जानकारी दिनुभयो । आफुहरु स्थानीय सरकारको नेतृत्वमा आएपछि आयुर्वेद भवनलाई पुरा गर्न खोज्दा त्यस माथी थप संचरना निर्माण गर्न नमिलेको उहाँको भनाई छ । आवश्यकता अनुसारको पिलर नभएको, भवनलाई उपयुक्त रड (डण्डी) नराखिएको लगायतको कारण उक्त संरचनामा नै भवन निर्माण गर्न नसकिएको अध्यक्ष कुलुङको भनाई छ । त्यस निर्माणधिन संरचनाको अध्ययनको लागि ईन्जिनियर लगेर स्थलगत अध्ययन गर्दा त्यस माथी थप निर्माण गर्न नसक्ने प्राविधिकहरुले बताएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । ‘त्यो भवनको विच तिर कुनै पनि पिलर छैन, छेउछेउमा मात्र छ, त्यसले एक तला ढलान समेत नथाम्ने ईञ्जिनियरहरुले भनेका छन्’, अध्यक्ष कुलुङले भन्नुभयो ।

उक्त संरचनालाई भत्काएर अर्को संरचना निर्माण गर्नको लागि पहल गर्दा पनि भत्काउन नमिल्ने विभिन्न निकायहरुले भनेपछि सम्पुर्ण काम रोकिएको सिलिचोङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मोहन संशेर कुलुङले जानकारी दिनुभयो । त्यस क्षेत्रमा अर्को आवश्यक पर्ने जग्गा नभएकोले अर्को भवन बनाउन समस्या भएको समेत उहाँको भनाई छ । भवन निर्माण कार्य सम्पन्न हुने गरि त्यो बेला ४० लाख प्राप्त भएको तर प्राविधिक र ठेकेदारको लापरबाहीले काम सम्पन्न नभई विचैमा छोडेको उहाँले आरोप लगाउनुभयो । अब अर्को बर्ष त्यही ठाउँमा ट्रष्ट हालेर भएपनि निर्माण सकेर प्रयोगमा ल्याउने योजना रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार