फेरिदै ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रको मुहार



स्वास्थ्य केन्द्रमा प्यासेन्ट मोनिटरबाट स्वास्थ्य परिक्षण गर्नुहुँदै डा. रुपेश कर्ण ।

ताम्कु । भर्खरै निर्माण सम्पन्न भएको भनिए पनि निक्कै पुरानो थोत्रो देखिने भवन भित्र थोरै स्वास्थ्यकर्मीहरु । पानी पर्ने वित्तिकै चुहिन थाल्ने उक्त भवन भित्र फाट्टफुट्ट मात्र विरामी आउने र भने जस्तो सेवा नपाएपछि सेवा बिहिन भएर फर्कन्थे ।

यो दुर्गम मध्येको एक सिलिचोङ गाउँपालिकाको ताम्कुमा रहेको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रका वास्तविकता हो । तर अहिले उक्त अवस्थाको ठिक बिपरित बनेको छ । अहिले ल्याब, ईसिजी, एक्सरे, भिडियो एक्सरे लगायतको आधुनिक उपकरणहरु सहित दैनिक चिकित्सकको टोलीले सेवा दिईरहेको छ । यस अघि सामान्य बिरामी हुँदा समेत जिल्ला अस्पताल धाउने नागरिकहरुले अहिले आफ्नै गाउँमा चिकित्सकको सेवा पाईरहेका छन् । जिल्ला अस्पतालबाट मात्र प्राप्त हुँदै आएको सेवा गाउँमै पाउँदा हज्जारौ रुपैयाँ बचत भएको भन्दै स्थानीयले खुसी ब्यक्त गर्न थालेका छन् ।

केही बर्ष अघिसम्म नै भद्रगोल अवस्थामा रहेको स्वास्थ्य केन्द्र स्थानीय तह बनेपछि एक पछि अर्को गरेर सुधार हुँदै आएको हो । प्राथमिक स्वास्थ्य केन्द्र बाहेक सिलिचोङमा ३ वटा स्वास्थ्य चौकीहरु छन् भने एक वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र छ । त्यस्तै ८ स्थानमा सामुदायिक स्वास्थ्य ईकाई रहेको छ । उक्त सवै स्वास्थ्य संस्थाहरुमा पर्याप्त स्वास्थ्यकर्मीहरु रहेको स्वास्थ्य शाखा संयोजक दिपेन्द्रकुमार कुलुङले जानकारी दिनुभयो । अहिले एक चिकित्सक सहित ४४ जनाले गाउँपालिकामा स्वास्थ्य सेवा दिईरहेको गाउँपालिकाले जनाएको छ ।

हाल स्वास्थ्य ईकाईमा ३५, स्वास्थ्य चौकीमा ३५ र प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका औषधीहरु निशुल्क दिईदै आएको स्वास्थ्य शाखा संयोजक कुलुङले जानकारी दिनुभयो । स्वास्थ्य संस्थाबाट दिईने सेवाको अलवा गाउँगाउँमा पुगेर पनि घुम्ति सेवा दिईदै आएको कुलुङको भनाई छ । केन्द्रबाट प्राप्त औषधीहरु पर्याप्त नभएकोले गाउँपालिकाले बजेट विनियोजन गरेर पनि औषधी खरिद गर्दै आएको छ । औषधी बाहेकका उपकरणहरु खरिद गर्नको लागि समेत १० लाख रुपैयाँ बढी रकम गाउँपालिकाले विनियोजन गरेको छ ।

भवन निर्माण सम्पन्न भएपछि चुहिएकै अवस्थामा ठेकेदारबाट हस्तान्तरण गरिएको उक्त भवन पनि गाउँपालिकाले मर्मत गरेपछि अहिले चुहिन छोडेको छ । अघिल्लो आर्थिक बर्षमा गाउँपालिकाले बजेट नै विनियोजन गरेर भवन मर्मत गरेको हो । उक्त एक तले भवन पुन नचुहिनको लागि आगामी बर्ष त्यस माथी ट्रष्ट हालेर छाउने योजना रहेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङको भनाई छ । वरिपरि बार लगाएर ट्रष्ट हाल्दा गाउँपालिका स्तरमा नै ठुलो र आकर्षक सभाहल समेत निस्कने अध्यक्ष कुलुङले जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई सफा र आकर्षक बनाउनको लागि भुईमा टायल बिच्छ्याउने योजना रहेको उहाँले बताउनुभयो । अन्य स्वास्थ्य संस्थाहरुको भौतिक ब्यवस्थापन पर्याप्त रहेको छ भने स्वास्थ्य ईकाईको भवन धमाधम निर्माण भईरहेको अध्यक्ष कुलुङको भनाई छ ।

सम्बन्धित समाचार