निकुञ्ज क्षेत्रका नागरिकहरुको गुनासो, बाँदरले बस्नै दिएन




ताम्कु । मकालु बरुण राष्ट्रिय निकुञ्जले संरक्षित क्षेत्रका नागरिकहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गर्यो । सिलिचोङ गाउँपालिकाको ताम्कु सेक्टरमा आयोजित उक्त कार्यक्रममा सहभागी मध्यवर्ती क्षेत्रका प्रतिनिधीहरुले बाँदरको समस्या अत्याधिक रहेको गुनासो गरेका छन् ।

मुख्य संरक्षण अधिकृत चन्द्र शेखर चौधरीको उपस्थितीमा आयोजित अन्तरकृया कार्यक्रममा बन्यजन्तले बाली खाईदिने गरेको गुनासो पोखेका हुन् । बाँदर, दुम्सी बँदेल, मृग लगायतले बाली खाईदिएपछि समस्या भएको गुनासो गरेका हुन् । पछिल्लो समय जंगली जनावरहरुको संख्यामा बृद्धिभएसँगै कोदो, मकै, आलु लगायतका बालीहरु खाएर नष्ट गरिदिएको नागरिकहरुले बताएका छन् । जंगली जनावरहरुले बाली नष्ट गरिदिएपछि गाउँमा बस्न सक्ने अवस्था नभएको भन्दै बाली संरक्षणको उपाय निकुञ्जले सिकाउनु पर्ने नागरिकहरुले माग राखेका छन् ।

हाल भालुको संख्या समेत बढेकोले घरपालुवा जनावरहरु त्यसको सिकार बनेको स्थानीयले बताएका छन् । त्यस वापत निकुञ्जले क्षतीपुर्ती दिने भनिएपनि सहज तरिकाले क्षतीपुर्ती नपाएको उनीहरुको गुनासो छ । क्षतीपुर्ती भराउनको लागि सम्पुर्ण प्रकृया पुरा गरि निकुञ्ज कार्यालय सेदुवा पुगेर आउँदा पाउने क्षतिपुर्ती रकम भन्दा बढी खर्च भएको पिडितहरुले अनुभव सुनाएका थिए । ताम्कुबाट मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालय सेदुवा पुग्न दुई दिन लाग्छ । सामुदायिक बनको काठ कटाउनको लागि अनुमति पत्र लिन समेत सेदुवा नै पुग्नु पर्ने बाध्यता रहेकोले निकुञ्जले जनताहरुलाई सास्ती दिएको आरोप लगाएका छन् ।

अन्तरकृया कार्यक्रममा सहभागीहरुले पोखेको गुनासोहरु निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले सुनुवाई गर्नुभएको थियो । पछिल्लो समय बन्यजन्तुहरुको संख्या बढेको महसुस हुनु खुसीको कुरा रहेको बताउनुभयो । मानिसहरुले बन्यजन्तुहरुको बासस्थान बनजंगल फडानी गरेपछि बन्यजन्तुहरु गाउँपस्न थालेको चौधरीले बताउनुभयो । पर्याप्त जंगल भए बन्यजन्तुहरु त्यही रमाउने भएकोले बनजंगल विनास गर्न नहुने चौधरीको भनाई छ । बन्यजन्तुहरुबाट जनधनको क्षति भईहाले क्षतिपुर्तीको ब्यवस्था गरिएकोले घटनाको ३५ दिन भित्र प्रकृया पुराईसक्नु पर्ने प्रमुख संरक्षण अधिकृत चौधरीले जानकारी दिनुभयो । बाँदरले पुराएको क्षतिको राहत अहिलेसम्म दिने ब्यवस्था नभएपनि अब केही समय भित्र नै माथिल्लो निकायबाट नितिगत निर्णय आउन लागेको उहाँले बताउनुभयो ।

पशु चौपायको क्षतिको लागि भने दश हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने ब्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । मानविय क्षति तर्फ सामान्य घाईते भएको अवस्थामा २० हजार रुपैयाँ, गम्भिर घाईते भएको अवस्थामा २ लाख रुपैयाँ र मृत्यु भएको अवस्थामा १० लाख रुपैयाँ क्षतिपुर्ती पाउने ब्यवस्था गरिएको चौधरीले जानकारी दिनुभयो । सवै घटनामा क्षतिपुर्ती लिनको लागि निकुञ्ज कार्यालयका कर्मचारीहरुको उपस्थितीमा मुचुल्का अनिबार्य तयार गर्नु पर्ने समेत उहाँले जानकारी दिनुभयो । सम्पुर्ण कागजात तयार भईसकेपछि अव सेक्टर कार्यालयमा बुझाए पुग्ने चौधरीले बताउनुभयो । सेक्टर कार्यालयले ईमेलको माध्ययमबाट निकुञ्ज कार्यालयमा पठाएपछि करिव एक हप्ता भित्र राहत उपलब्ध गराउने चौधरीले प्रतिबद्धता ब्यक्त गर्नुभयो । पृथ्वी मानिस लगायत सवै जीवजन्तुहरुको समेत घर भएकोले उनीहरुको बाँच्ने अधिकार संरक्षण गर्नु पर्नेमा आम नागरिकहरु सचेत हुनको लागि समेत मुख्य संरक्षण अधिकृत चौधरीले आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार