हिमालय किरण क्याम्पसमा ५० बेडको आइसोलेसन कक्ष निर्माण




खाँदबारी । पछिल्लो समय जिल्लामा कोरोना भाईरसको संक्रमण बढेपछि खाँदबारी अस्पतालले ५० बेडको आईसोलेसन कक्ष निर्माण गरेको छ । खाँदबारी नगरपालिका ७ मा रहेको हिमालय किरण पब्लिक क्याम्पसको भवनमा सनिबार आईसोलेशन कक्षको निर्माण गरिएको हो ।

यस अघि उक्त क्याम्पसमा १० बेडको आईसोलेसन कक्ष बनाईएको थियो । सोहि कक्षमा अहिले ४ जना संक्रमितहरुको उपचार भईरहेको छ । यस अघि पनि ४ जनाको यहि आईसोलेसनमा राखेर उपचार गरि घर पठाईएको छ । पछिल्लो समय संक्रमितहरुको संख्या बढ्न थालेपछि आईसोलेसनको क्षमता बढाउनु परेको खाँदबारी अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमण समुदाय स्तरमा फैलिए आईसोलेसन कक्षा तत्काल आवश्यक पर्ने भएकोले पनि निर्माण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

हिमालय किरण क्याम्पसमा यस अघि बनाईएको १० बेड क्षमताको आईसोलेसन वार्डमा तोडफोड गरिएको थियो । केहि बिवादका विच अहिले पनि सोहि क्याम्पसमा आईसोलेसन कक्षको क्षमता विस्तार गरिएको हो । आईसोलेसन कक्षमा तोडफोड हुँदा १४ लाख रुपैयाँ बराबरको क्षति पुगेको खाँदबारी अस्पतालले बताएको थियो । तोडफोडमा संलग्न भएको आरोपमा क्याम्पस प्रमुख सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु मध्ये दुई जनामा सनिबार कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । उनीहरुको पनि सोहि आईसोलेसन कक्षमा उपचार भईरहेको छ ।

सम्बन्धित समाचार