कथाकार हरि थापालाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार



काठमाडौं : यस वर्षको राजमित्र स्मृति प्रज्ञा पुरस्कार कथाकार हरि थापालाई प्रदान गरिने भएको छ। पुरस्कार समितिका संयोजक तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले शैवले पुरस्कारबारे जानाकारी दिएका हुन्।

साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्वारा माता-पिताको सम्झनामा स्थापित यस संस्थाले हालसम्म अमेरिकाको बोष्टनमा रहेर नेपाली साहित्य लेखनमा लागिपर्ने सात जना साहित्यकारलाई सम्मान गरिसकेको छ। सम्मानित हुने साहित्यकारहरूमा भारती गौतम, दिनेश राजभण्डारी, गोवर्द्धन पूजा, लालगोपाल सुवेदी, दीपा राई पुन र महेश्वर पन्त रहेका छन्।

यस वर्ष पुरस्कृत हुने थापा सानो विषयवस्तुलाई पनि मीठो कथामा उन्न सिपालु कथाकार हुन्। उनका अक्षररेखा (कथा संग्रह २०५६), तिब्बती विम्बहरू (सयात्रासंग्रह २०७०) , व्यथाहरूको कथा (कथा संग्रह  २०७१) , परदेशको कथा (कथा संग्रह २०७५), परिमित (लघुकथा संग्रह २०७३), मियो (ग़ज़ल संग्रह २०७४) लगायतका कृति प्रकाशित छन्। छालिंग भक्तपुरमा जन्मिएका थापा लामो समयदेखि अमेरिकाको बोष्टनमा बस्दै आएका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वकेन्द्रीय अध्यक्ष तथा वर्तमान अनेसास बिओटी उपाध्यक्ष साहित्यकार पुरु सुवेदीको प्रमुख आतिथ्यमा हुने विशेष साहित्यिक समारोहमा पुरस्कार प्रदान गरिने जानकारी सोही संस्थाका अध्यक्षले बताए। कलाकार रञ्जन बुढाथोकी र लोककवि अलिमियाँ वांगमय प्रतिष्ठानका अध्यक्ष हमिप मियाँलाई पनि सोही दिन विशेष अभिनन्दन गरिने कार्यक्रम रहेको छ। कार्यक्रम यही सेप्टेम्बर १९ तारिख आइतवारका दिन राजमित्र प्रांगण माल्डेनमा हुँदैछ।

सम्बन्धित समाचार