एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा हिजो सुरु भएको बैठक आज पनि जारी रहने भएको हो।

शुक्रबारको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुलाई आगामी विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनहरु छलफलका लागि वितरण गरिएको थियो। प्रतिवेदन अध्ययनका लागि बनेका १० वटा समूहले शनिबार बिहान अनौपचारिक छलफल गरेपछि छलफलका निष्कर्ष दिउँसो १ बजे सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

विधान अधिवेशनका लागि राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदन बनाइएको छ। यी प्रतिवेदनहरुमा छलफलका लागि सात वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्ने पार्टीका इन्चार्जहरुको एउटा समूह, विभागीय प्रमुखहरुको समूह र प्रदेश सम्पर्क कमिटीहरु, उपत्यका विशेष कमिटीहरु लगायतलाई हेर्ने अर्को समूह बनाइएको छ।

शुक्रबार सुरु भएको बैठकमा पार्टीका तेस्रो धार भनेर चिनिने नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति प्रकट गरेका थिए।

सम्बन्धित समाचार