भोजपुरमा पाउन छाडे खुकुरी बनाउने कालीगढ, संकटमा भोजपुरे खुकुरी


१४ कार्तिक २०७८, आइतबार


भोजपुर । खुकुरीबाट देश, विदेशमा चिनिएको भोजपुरमा खुकुरी बनाउने कालीगढ नहुँदा पेशा लोप हुन थालेको छ।

खुकुरीले ख्याती कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीहरूको भनाइ छ। खुकुरी बनाउने पेशालाई इज्जत नदिने गरिएकाले पनि यो पेशा संकटमा परिरहेको उनीहरूको भनाइ छ।

यस क्षेत्रमा भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन्। यी खुकुरीको माग बजारमा राम्रो छ। तर कालीगढ र कच्चा पदार्थ अभावसँगै यो पेशा संकटमा पर्दै गएको ‍४० वर्षदेखि खुकुरी बनाउँदै आएका हर्कबहादुर विश्वकर्मा बताउँछन्।

‘खुकुरी बनाउने पेशा संकटमा छ। पेशा संकटमा पर्नुको मुख्य कारण यसलाई पुस्तान्तरण गर्न सकिएको छैन‚’ हर्कबहादुरले भने‚ ‘नयाँ पिढीले यो पेशालाई निरन्तरता दिन छाडेको अवस्था छ। यस्तै अवस्था हो भने केही समयपछि कालीगढ पाउन मुस्किल पर्छ।’

फलामको पेशालाई समाजमा इज्जतिलो पेशाका रुपमा नलिने भएकाले पछिल्लो पुस्ताले नरोजेको उनको भनाइ छ। यस पेशालाई लोप नदिन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माको भनाइ छ।

‘मैले ४० वर्षबाट यहीं पेशा गरिरहेको छु। यतिका समय यही पेशा गर्दा पनि मलाई आर्थिक रुपमा समस्या नै छ। मैले राज्यको तर्फबाट खास केही सुविधा पाएको छैन। मेहनत बढी गर्नु पर्छ। आम्दानी कम छ। राज्यको सहयोग छैन। त्यसैले पछिल्ला पुस्ताले यो पेशा गर्न रुचाउन छाडे‚ उनले भने, ‘यसलाई जीवन्त राख्न राज्यले प्रोत्साहनमुलक कार्यक्रम ल्याउन आवश्यक छ।’

स्थानीय सरकारले पनि सहयोग नपाएको प्रेमकुमार लुवारले बताए। व्यवसायलाई सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थकोसमेत अभाव रहेको उनको भनाइ छ।

‘राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ। हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ। कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ‚’ उनले भने‚ ‘सामुदायिक वनबाट सहज रुपमा ल्याउन पाउने अवस्था छैन। हामीले उत्पादन गरेका खुकुरीले पनि मेहनत अनुसारको उचित मूल्य पाउन सकेको छैन।’

स्थानीय सरकार तथा सरोकारकावाला पक्षले संरक्षणमा ध्यान नदिएमा पेशा लोप हुने उनको भनाइ छ। मेहनत अनुसारको आम्दानी नहुने भएकाले पनि फलामका हातहतियार बनाउने पेशामा लाग्नेहरूको संख्या घट्दै गएको लुवारले बताए। पिता पुर्खाले गर्दै आएको पेशालाई निरन्तरता दिए पनि राज्यबाट सहयोग नपाएको लुवारको दुःखेसो छ।

भोजपुर बजारका स्थानीय खुकुरी व्यापारी हिरालाल श्रेष्ठले पछिल्लो समय माग अनुसार खुकुरी उपलब्ध गराउन नसकेको बताए। ‘हामीले अहिले अनलाइनमार्फत पनि व्यावसाय गरिरहेका छौँ‚’ उनले भने‚ ‘कालीगडसँगै कच्चा पदार्थको कारण हामीलाई व्यावसाय सञ्चालनमा समस्या छ। त्यसैले माग अनुसारको खुकुरी दिन सकिएको छैन। बजारको कामलाई धान्न समस्या छ।’

राज्यले साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यावसाय संकटमा परेको उद्योग सञ्चालकको भनाइ छ। युवा पुता विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरनहरू बन्द भएका छन्।

भोजपुरको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने पेशा लोप हुँदै जानु दुःखद् रहेको जानकारहरूको भनाइ छ। पेशालाई जोगाउन राज्यले कालीगढहरूको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नु पर्ने जानकारले बताउने गरेका छन्।

सम्बन्धित समाचार