किमाथांकामा हिमपातले जनजीवन कष्टकर (फोटो फिचर)



सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका किमाथांकामा बाक्लो हिमपात परेपछी जनजीवन कष्टकर बनेको छ । शुक्रबार साँझदेखि हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको हो ।

बाक्लो हिउँका कारण किमाथाङ्काका बस्ती नै छोपिएको दृष्यमा देख्न सकिन्छ । हिमपातका कारण पशु चौपायहरुमा बढी असर पुगेको छ भने नागरिकहरु घर बाहिर निस्कन सकेका छैनन् । बाँधिएका पशु चौपायलाई घाँस पानी दिन नसकिएको किमाथाङ्काका थुजुक भोटेले जानकारी दिए ।
किमाथाङ्का क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको किमाथाङ्का प्रहरी चौकीका ईञ्चार्ज टिकाराम राईले जानकारी दिए । प्रहरी चौकीको भवन समेत हिउँले ढाकेको राईले बताए ।

हिमपातपछि जाडो बढ्दा बालबालिका र बुढाबुढीहरुलाई समस्या परेको छ । गरिवीका कारण बाक्लो र न्यानो कपडा नभएकाहरु जाडोबाट बढि प्रभावित बनेका हुन् । जाडोका कारण बालबालिका र बुढाबुढीहरुमा बढीजसो रुघा खोकीको समस्या देखिन थालेको प्रभावित बताउछन् । घर बाहिर हिउँ जमेपछि बाहिर निस्केर दैनिक चलाउन समस्या परेको किमाथाङ्काका ग्याल्जेन नावाले बताए । बालबालिका र बुढाबुढीलाई घरभित्रै लगातार आगो बालेर राख्ने गरेको स्थानीय नावाको भनाई छ ।

 

 

 

 

 

तस्बीर सौजन्य : टिकाराम राई, किमाथांका

 

सम्बन्धित समाचार