शुक्रवारदेखि मौसम सुधार हुँदै जाने सम्भावना



काठमाण्डौ । पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आउँदो शुक्रवारदेखि क्रमिक सुधार हुने भएको छ । यो मौसमी प्रणाली शुक्रवारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । ‘बिहीवारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ’, उहाँले भन्नुभयो ।

विभागले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्शसहितको विज्ञप्ति निकालेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै ठाउँमा र बाँकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

अहिले देशको सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

भोलि बिहीवार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रही देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार