मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह



काठमाण्डौ । मङ्कीपक्सको सङ्क्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

अहिले विश्वमा मङ्कीपक्सको सङ्क्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मङ्कीपक्सको सङ्क्रमणबाट बच्न व्यक्तिगत सरसफाइ र क्वरेण्टीनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तीमा दुई हप्ता अनिवार्य क्वरेण्टीनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले मङ्कीपक्सको सङ्क्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताउनु भयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताउनु भयो ।

अधिकारीले भन्नुभयो, ‘विदेशबाट आउनेहरुले कम्तीमा दुई हप्ता क्वरेण्टीनमा बसिदिनुहोला । व्यक्तिगत सरसफाइको कुराहरु बढी महत्त्वपूर्ण छ । कुनै पनि चिजहरु सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । यस्तो गर्दा हामीमा यदी भाइरस आएको छ भने पनि निस्क्रिय भएर जान्छ । कसैको शरीरबाट निस्किएका छिटाहरु हाम्रो शरीरमा आइनपुगोस् र हामीबाट अरुको शरीरमा नपुगोस् भन्न मास्कको प्रयोग गर्नुपर्छ । कोही त्यो क्षेत्रबाट आएको व्यक्ति छ, जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्यौँ भने त्यसको उपचार गर्न सहज हुन्छ र अरुलाई पनि सर्दैन ।’

मङ्कीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताउनु भयो । उहाँले यो सङ्क्रमण प्रायजसो बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गर्नुभयो । मङ्कीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि बताउनु भयो । उहाँले मङ्कीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताउनु भयो । मङ्कीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि बताउनु भयो । उहाँले मङ्कीपक्सको खोप उत्पादन भएर प्रयोगमा आइसकेको पनि बताउनु भयो ।

मङ्कीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जङ्गलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातिका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, र्याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवम् मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो सङ्क्रमण हुनसक्छ ।

यो सङ्क्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्यून रहेको अहिलेसम्मको अध्ययनले देखाएको छ । यो समाचार तयार पार्दासम्म विश्वका ७ देशमा ३० जनाभन्दा धेरै मानिसहरुमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय यसको सङ्क्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै सङ्क्रमण भइ सरेको हुनसक्ने अनुमान छ । यसका प्रायजसो लक्षण स्मल पक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ ।

सम्बन्धित समाचार