फोटो पत्रकार पुर्णिमा श्रेष्ठले गरिन मकालु हिमाल आरोहण



गोरखाका फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संखुवासभामा अवस्थित मकालु हिमालको सफल आरोहण गरेकी छन् । फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शुक्रबार बिहान करिब १०.५० बजे मकालुको शिखर चुमेकी हुन् । सातौं सफल आरोहणसँगै श्रेष्ठ नेपालतर्फबाट आरोहण गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनी कीर्तिमान कायम गरेकी छन् ।

नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु भए पनि चोयु हिमाल भने तिब्बततिरबाट मात्र चढिन्छ ।

८,४८५ मिटर अग्लो मकालु विश्वको पाँचौं अग्लो हिमाल हो । जुन नेपाल र चीन तिब्बतको स्वायत्त क्षेत्रको सीमामा रहेको सर्वोच्च शिखर सगरमाथाबाट १९ किलोमिटर दक्षिणपूर्वमा अवस्थित महालङ्गुर हिमशृंखलामा पर्छ ।

आठ हजार मिटर अग्लो हिमालमध्ये एक मकालु पृथक चारकुने पिरामिड आकारको छ । मकालु हिमालको शिखरमा पाइला टेकेसँगै एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल आरोहण गरेकी फोटो पत्रकार पूर्णिमालाई फोटो पत्रकार क्लबले सम्मान गरेको छ । उनको आरोहणलाई फोटो पत्रकार संघले सम्पूर्ण नेपाली महिला, फोटो पत्रकारिता जगत तथा फोटो पत्रकारको लागि गौरवपूर्ण क्षण भएको जनाएको छ ।

गोर्खाको आरुघाटमा जन्मिएकी श्रेष्ठले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), धवलागिरी (८,१६७ मिटर), ल्होत्से (८,५१६ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), मनास्लु (८,०१६ मिटर), अन्नपूर्ण (८,०९१ मिटर) आरोहण गरिसकेकी छन् । एक दशकदेखि फोटो पत्रकरितामा सक्रिय पूर्णिमा हाल कारोबार राष्टिूय आर्थिक दैनिकमा कार्यरत छिन् ।

सम्बन्धित समाचार