बहिनीको खुकुरी प्रहारबाट दिदी गम्भीर घाइते



विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ पानी ट्यांकीमा बिहीबार राति बहिनीको खुकुरी प्रहारबाट दिदी गम्भीर घाइते भएकी छन्। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वेदप्रसाद गौतमका अनुसार २९ वर्षीया सुमित्रा राईले आफ्नै दिदी ४० वर्षीया लक्ष्मी राईलाई राति ९ बजेतिर खुकुरी प्रहार गरेकी हुन्।

घाँटीमा खुकुरी प्रहार गरिएकी लक्ष्मीको अवस्था गम्भीर छ। उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको गौतमले बताए। सामान्य घरयासी विवादका कारण घटना भएको पाइएको जानकारी उनले दिए। प्रहरीका अनुसार वृद्ध अवस्थाका बाबु र आमाको हेरचाह गरेर दिदी–बहिनी दुवै जना माइती घरमै बस्दै आएका थिए। गाउँ मात्रै डुलिरहने गरेका कारण घरमा पनि समय दिनुपर्छ भनेर सम्झाईबुझाई गर्ने क्रममा आक्रोसित भइ बहिनीले दिदीमाथि नै खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा प्रयोग गरिएको खुकुरीसहित सुमित्रालाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ। यसैबीच नोबेल अस्पतालमा उपचाररत घाइतेको उपचारमा रकमको अभाव देखिएको छ। पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण घाइतेको उपचारमा समस्या भएको हो। ‘परिवारको आर्थिक अवस्था एकदमै कमजोर छ,’ डीएसपी गौतमले भने, ‘खर्च अभावका कारण उपचारका लागि चन्दा संकलन गर्नुपर्ने अवस्था रहेछ।’

 

सम्बन्धित समाचार