ताप्लेजुुङ खेवाङमा पहिरोले दुईको मृत्यु, ३० परिवार विस्थापित



ताप्लेजुङ । बिहीबार बेलुका सिरिजंगा गाउँपालिका–६ खेवाङमा गएको पहिरोमा परी एकाघरका सासु र बुहारीको मृत्यु भएको छ । पहिरोमा परेर छोरा गम्भीर घाइते भएका छन् । यसै वडाका वडाध्यक्ष बुद्ध दाहालका अनुसार सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो । छोरा विष्णु अधिकारी गम्भीर घाइते भएका छन् ।

घाइतेको उद्धारका लागि सुनसरीको इटहरीबाट नेपाली सेनाको हेलिकोप्टर बोलाइएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले जनाकारी दिए । घाइतेलाई करिब एक घण्टाको दुरीमा रहेको राजु भट्टराईको घरमा राखिएको वडाध्यक्ष दाहाल बताउँछन् । ‘हेलिकोप्टर बाहेक उपचारमा लाने सम्भावना छैन,’ दाहालले भने, ‘गाडीका सबै बाटोहरु पहिरोले बिगारेको छ । बोकेर लानका लागि पनि बाटो छैन ।’ घाइतेको छाती फुलेको र अलिअलि मात्रै बोल्न सक्ने उनले बताए । हात खुट्टा चलाउन सक्ने अवस्था छैन ।

पहिरोका कारण वडाभरिका ३० घर परिवार विस्थापित भएको वडाध्यक्ष दाहाल बताउँछन् । बिहानको मौसम खुलेकाले केही राहत भएको तर खोलाहरु बढेकाले तर्न सक्ने अवस्था नभएको दाहालले जानकारी दिए । प्रहरी टोलीले घटनास्थलाबट शव निकाल्ने काम गरिरहेको प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए । सासु र बुहारीको शव मतानले पुरेको छिमेकी ज्ञानेन्द्र पुर्कोटीले टेलिफोनमा जानकारी दिए ।

परिवारका अरु सदस्य झापामा बसाइँ गएकाले घरमा आमा छोरो र बुहारी गरी तीनजना मात्रै बस्दै आएका थिए । आमा र श्रीमतीलाई पहिरोले बगाएपछि भाग्न सफल विष्णु आफैं हिँडेर छिमेकसम्म पुगेका थिए । पहिरोले भैंसी, गाई, गोरु र बाख्रा पनि मरेका छन् । एउटा पाडो मात्रै बाँचेको पुर्कोटीले बताए । वडाभरि नै पहिरो चलेको तर अन्यत्र मानवीय क्षति नभएको स्थानीयले बताए ।

यता वाड नं ८ मामांखेमा अलैंची बगानबाट झरेको पहिरो बस्ती छेउमा पुगेको तर घरमा क्षति भने नभएको स्थानीय शिक्षक देउमान मावोले बताए । फक्ताङलुङ गाउँपालिका ३ लिंखिमको सिंवाका ६० जनाले रातभरि सिंवा माध्यमिक विद्यालयमा बिताएको प्रधानाध्यापक ओमनाथ गौतम बताउँछन् । तमोर नदीमा पानीको सतह बढेर आएपछि र सिंवा बजारको पल्लो छेउमा माथिबाट पहिरो र लेदो झरेपछि स्थानीय विद्यालयमा आएर बसेका हुन् ।

पहिरोले फक्ताङलुङ २ खेजेनिम चाखुमा दुई वटा खानेपानीको मुहान बगाएको छ । ४५ परिवार खानेपानीबाट बञ्चित भएको खेजेनिमका जगन पौडेलले जानकारी दिए । पौडेलका अनुसार मेथेम खोला पावर हाउसको ३० मिटर पाइप बगाउँदा सात सय परिवार विद्युत् सेवावाट बञ्चित भएका छन् । सिवादेखि तापेथोक जोड्ने सडकको अधिकांश भागमा पहिरो देखिएको र यातायात पूर्ण अवरुद्ध भएको पैडेलले जानकारी दिए ।

 

सम्बन्धित समाचार