सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छोरा र छोरी थुनामा



सप्तरी । मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी हिजो पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।

मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाण्डौबाट पक्राउ गरेको थियो । सप्तरीका विपन्न नागरिकको उठीबास लगाएर फरार रहेका मिटरब्याजी रामदेव साह अहिलेसम्म पक्राउ परेका छैनन् । रामदेवसहित अन्य छ जना फरारको खोजी भइरहेको छ । आरोपितविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएपछि प्रहरी सक्रिय भइ उजुरी दर्ता गरेको हो । पीडितले तीन महिनाअघि नै उजुरी दिए पनि बेवास्ता गर्दै आएको सप्तरी प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपछि कारोबारीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो ।

पीडितले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहलगायतविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा तीन महिनाअघि उजुरी दिएका थिए ।

मिटरब्याजी रामदेवबाट १० लाख रुपैयाँ ऋण लिएकी शम्भुनाथ नगरपालिका–२ रामपुर–जमुवाकी महिलाले ब्याज मिनाहा पाउने आश्वासनमा यौन शोषणको सिकारसमेत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । पीडितका अनुसार १० लाख रुपैयाँ ऋणको साहुकार रामदेवले ३२ लाख रुपैयाँ असुलेर यौनशोषणसमेत गरेका पीडितले बताएकी छिन् ।

पीडितका अनुसार ऋण चुक्ता गरेपछि फिर्ता गर्ने गरी आफ्नो नाममा रजिष्टरी गरेको १५ कट्ठा १५ धुर जग्गासमेत तेलीले फिर्ता गरेका छैनन् । रामपुर–जमुवाको कित्ता नम्बर १८९ को १७ धुर, कित्ता नम्बर १८१ र १८७ को एक–एक कठ्ठा, कित्ता नम्बर ४३ को सात कठ्ठा ११ धुर र कित्ता नम्बर ५७३ को पाँच कठ्ठा सात धुर जग्गा साहुकार तेलीले फिर्ता नगरेको पीडितले बताउनुभएको छ ।

पीडितका श्रीमान् रोजगारीका लागि १२ वर्षअघि मलेसिया गएका थिए । घर नजिकै जग्गा किन्ने विषयमा श्रीमान्ले सहमति दिएपछि साहुकार रामदेवसँग १० लाख रुपैयाँ ऋण लिएर पीडितले सात कठ्ठा ११ धुर जग्गा किन्नुभएको थियो । नयाँ किनेको जमिनसहित उहाँको नाममा रहेको सबै जग्गा साहुकारले ऋण तिरेपछि फिर्ता हुने गरी आफ्नो नाममा राखेका छन् ।

वैदेशिक रोजगारमा रहेका श्रीमान्ले पठाएको पैसा साहुकार तेलीलाई तिर्दै गए पनि जग्गा फिर्ता नपाएको पीडितले बताउनुभएको छ । ऋण तिरेपछि सबै जग्गा फिर्ता गर्ने भनेका तेलीले १० लाखको ३२ लाख रुपैयाँ असुले पनि जग्गा फिर्ता नगरेको पीडितले बताउनुभयो । ब्याज धेरै भयो भन्दै मिनाहा गर्ने नाममा बारम्बार बलात्कार गरेको पीडितले बताउनुभएको छ ।

न्यायका लागि गएको मङ्सिर १२ गते पुगेकी पीडितलाई जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कल्याणपुर पठाए पनि कल्याणपुर प्रहरीले ढिलो भएको भन्दै उजुरी लिन नमानेको पीडितले बताउनुभयो। उहाँले मङ्सिर १३ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएकोमा कारबाही अगाडि नबढेपछि पुस २१ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशका लागि निवेदन दिनुभएको थियो ।

उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडितको उजुरी दर्ता गर्न परमादेश दिएको थियो । न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोखरेलको संयुक्त इजलासले पीडितलाई झिकाएर आफूले दिएको जाहेरी सनाखत गराएर निकासा दिनु भनेर प्रहरीका नाममा परमादेश गरेको थियो ।

गृहमन्त्रालयको निर्देशनपछि गम्भीर बनेको सप्तरी प्रहरीले मिटरब्याजी साहुकार तेलीले विपन्न नौ जना नागरिकमाथि ज्यादती गरेको घटना पत्ता लागेको थियो ।

सम्बन्धित समाचार