एउटा म्यानपावरमा छापा मार्दा अर्कै म्यानपावरका कागजात भेटिए, ८७ थान पासपाेर्ट जफत



काठमाण्डौ – वैदेशिक रोजगार विभागले एउटा म्यानपावरमा छापा मार्दा अर्कै म्यानपावरका कागजात भेटाएको छ । हिजो बिहीबार काठमाण्डौको सिनामंगलमा रहेको ह्वाइट हर्स रिक्रुटमेण्ट प्रालीमा छापा मार्दा अर्कै म्यानपावरबाट वैदेशिक रोजगारीको प्रक्रिया अगाडि बढाइएका पासपोर्ट भेटिएको विभागले जनाएको छ ।

त्यहाँबाट किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रक्रिया अगाडि बढाइएका ८७ थान पासपोर्ट भेटेर जफत गरिएको विभागका अनुसन्धान अधिकृत हेमराज अर्यालले बताउनुभयो । कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने कानुनी प्रावधान रहेको छ । अधिकृत अर्यालका अनुसार त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारबाही हुन्छ ।

ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो । म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो । तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताउनु भयो । विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि भोलिको उडानमा २३ जना युवाहरु मलेसिया जाने तयारीमा थिए । त्यसरी मलेसिया जान लागेका युवाहरुलाई विभागको टोलीले मलेसिया जान म्यानपावरलाई कति शुल्क दिएको भनेर सोधेपछि उनीहरुले कुनै पनि शुल्क नबुझाएको बताए ।

त्यस्तै म्यानपावरका कर्मचारीहरूले पनि फ्री भिसा फ्री टिकटमै मलेसिया पठाइरहेको दाबी गरेका छन् । यस बारेमा विभागले थप अनुसन्धान गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताउनु भयो । त्यसैगरी, विभागले अस्ति मात्रै कतार पठाउन १५ लाख रुपैयाँसम्म लिने गरेको गुनासो आएपछि अल ताक्वेत ओभरसिज नेपाल प्रालिमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको छ । त्यस म्यानपावरमाथि पनि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । दुवै म्यानपावरलाई विभागले थप अनुसन्धान गरेर वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

सम्बन्धित समाचार