कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड मन्त्रिपरिषदद्वारा स्वीकृत



काठमाडौँ । सरकारले कर्मचारीहरूको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै, बैठकले भदौ ७ देखि ९ मा संयुक्त राष्ट्र सङ्घको आयोजनामा थाइल्यान्डमा हुने एक सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय गरेको छ । विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने करिब १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने गरेको छ भने जापान सरकारबाट पूर्वी तराईको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकले सप्तकोसी बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद्संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै, बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी निर्देशिका २०८९ स्वीकृत गरेको छ भने भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले मन्त्रिपरिषद्ले ऊर्जा, कानुन र कृषि मन्त्रालयका लागि अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

 

सम्बन्धित समाचार