सुत्केरी आमालाई पोषणयुक्त खाद्यन्न बाँड्दै भाेटखाेला गाउँपालिका



संखुवासभा । जिल्लाको अति दुर्गम गाउँपालिका भोटखोलामा उपाध्यक्षसंग सुत्केरी आमा पोषण कार्यक्रम सुरु गरिएको छ । चालु आर्थिक बर्षदेखि लागु गर्ने गरि गाउँपालिकाले निती तथा कार्यक्रममा सुत्केरी हुने आमाहरुको ध्यानमा राखि यो कार्यक्रम तय गरेको थियो ।

शुक्रबार जिल्ला अस्पतालमा सुत्केरी भएका एक जनालाई उक्त कार्यक्रम अन्तर्गत सहायता प्रदान गरिएको छ । भोटखोला–३ हुङगुङका सुन्दर भोटे र पिम्म छेजिक भोटेलाई सहयोग गरिएको हो । करिब ५ हजार बजारको पोषणका खाद्य सामाग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष वाङ्छेदर लामाले जानकारी दिए । सुत्केरी भएका आमा तथा परिवारलाई गाउँपालिकाले कुखुरको भाले, कोदोको पिठो, सिस्नु पाउडर, लोकल अन्डा, गाइको घिउ र गेडागुडी हस्तान्तरण गर्ने गरि कार्यक्रम तय गरिएको छ ।

भौगोलिक विकटताका कारण यस क्षेत्रका आमाहरु सुत्केरी हुँदा स्याहार समेत नपुग्ने भएका कारण आमा र बच्चाको स्वास्थ्यमा समस्या आउने भन्दै कार्यक्रम लागु गरिएको हो । गर्भवती महिला र सुत्केरी आमाहरुको स्वास्थ्यमा ध्यान राखि स्वास्थ्य संस्थामा पहुँच पराउने समेत लक्ष्य लिईएको छ । भोटखोला गाउँपालिका भित्रका जो सुकै सुत्केरी हुँदा पनि यो सुविधा पाउने गरि पालिका अघि बढेको छ ।

आर्थिक रुपमा समेत कमजोर भएका यो क्षेत्रका नागरिकहरुले यो कार्यक्रमबाट लाभ लिएका छन् । स्वास्थ्य संस्थासम्म पुराउन समेत आर्थिक अभाव हुने परिवारलाई पोषणका खाद्य बस्तु पुराउन समस्या हुने गरेको छ । यो कार्यक्रमले आमा र बच्चाको स्वास्थ्यमा सहयोग पुग्नुका साथै पोषणसम्बन्धी सचेतना वृद्धि गर्ने विश्वास लिईएको छ । पालिकामा पहिलो पटक लागु भएको यो कार्यक्रमले धेरै सहयोग मिलेको स्थानीय बताउँछन् । स्वास्थ्य संस्थासम्म सुत्केरी गराउन जाँदाको आर्थिक भार नै थेग्न गाह्रो हुने परिवाको लागि राहत भएको उनीहरुको भनाई छ ।

सम्बन्धित समाचार