आफ्नै सहकर्मी कुट्ने स्वास्थ्यकर्मी प्रहरीकाे नियन्त्रणमा



संखुवासभा । जिल्ला अस्पताल खाँदबारीमा कार्यरत दुई जना कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अस्पतालका कर्मचारी माथि हातपात गरेको आरोपमा सोहि अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विरेन्द्र गोदारका अनुसार श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ। हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख श्रेष्ठले मंगलबार साँझ साढे ७ बजे अस्पतालकै क्वाटरमा रहेका अस्पतालका फार्मेसी इन्चार्ज धिरज रौनियर र अस्पतालका सूचना अधिकारी समेत रहेका मेडिकल रेकर्डर सुपरभाईजर शेखर खत्रीलाई हातपात गरेका थिए ।

श्रेष्ठले मंगलबार साँझ खाना खाईसकेर क्वाटरमा बसिरहेको अवस्थामा फार्मेसी इन्चार्ज रौनियर र सूचना अधिकारी र खत्रीलाई हातपात गरेको डिएसपी गोदारले बताए। पीडित कर्मचारीले मंगलबार राती नै प्रहरीमा निवेदन दिएका थिए। घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार