म्यादी प्रहरी भर्ना आबेदन सुरु



काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले आज (बिहीबार)बाट ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट एक साथ म्यादी प्रहरी भर्ना आबेदन लिन सुरु गरेको छ।

२०७९ मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी भर्ना गर्न यसअघि नै सरकारले स्वीकृति दिएकोमा बिहीबारबाट उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसर तथा जिल्ला बाहिर जिल्ला प्रहरी कार्यालयबाट भर्ना आबेदन खुलाएको हो ।

जिल्ला प्रहरी कार्यालय मार्फत भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन पाउने गरी प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरेको हो । त्यसको ४ दिन पछि बिहीबारबाट मापदण्ड पूरा गरेका नेपाली नागरिकका दरखास्त आवेदन संकलन कार्य सुरु भएको हो । म्यादीको कार्यअवधि ४० दिन हुने उल्लेख छ ।

आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ, आतंककारी संगठनको सदस्य नरहेको, आँखाको हेर्ने क्षमता माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको, पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाइ भएका, गर्भवती नभएकारनरहेकाले आवेदन दिन सक्ने न्यूनतम योग्यता तोकिएको छ ।

यस्तै गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन र २०७४ का स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्यादीमा भर्ना भई सन्तोषजनक काम गरेका, सेना, प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ०का उपदान र निवृत्तिभरणमा निस्केका पूर्व सुरक्षाकर्मीहरू, पूर्ववन रक्षकहरू, विदेशी सुरक्षा निकायमा काम गरेको अनुभव भएका तथा २०७९ भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिलाई म्यादी छनौटमा प्राथमिकतामा राखिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार दरखास्त दिने अवधि सकिएको भोलीपल्ट असोज ७ गते आवेदन दिएको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । त्यसपछि असोज ९ देखि १४ सम्म भर्ना छनोट गरिसक्ने कार्यतालिका छ । भर्नाको नतिजा असोज २५ मा प्रकाशित गरिने छ ।

यसरी छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालीम गराएर कात्तिक ९ बाट चुनावी सुरक्षामा परिचालन गरिने छ । तालीम प्रहरीबाट गराइने र कार्यअवधिभर प्रहरीकै कमान्डमा रहेर म्यादीले सुरक्षा जिम्मेवारी निर्वाह गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

छनौट भएका म्यादीले ४० दिनको तलबरभत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैया पाउने छन् । गत स्थानीय निर्वाचनको तुलनामा म्यादीलाई करिब ६ हजार रुपैयाँभन्दा बढी तलवरभत्ता दिन लागिएको हो । सबै राष्ट्रसेवकको तलब साउन १ बाट १५ प्रतिशत बढाएका कारण म्यादीले पाउने रकम पनि बढेको छ ।

म्यादीको तलब प्रहरी जवानको सुरु तलव स्केल अनुसार निर्धारण गरिएको छ भने पोशाक, रासन र अरु सुविधा सरकारले मापदण्ड बनाएर निर्धारण गरेको हो । तलब दैनिक ८ सय ६९ रुपैयाँ सरह म्यादीको तलब का दरले ४० दिनको ३४ हजार ७ सय ६०, रासन भत्तावापत ७ हजार २ सय, पोसाक भत्तालाई ६ हजार, यातायात खर्चबापत एक पटकका लागि १ हजार र खाजा खर्चलाई ३ सय रुपैयाँका दरले ४ दिनको १ हजार २ सय गरी एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउने छन् ।

हिमाली भेगमा खटिनेलाई ज्याकेट किन्न थप १ हजार रुपैयाँ उपलब्ध गराइनेछ । हिमाली भेगमा जिल्लाको रासन दरअनुसार म्यादीको रासन तय गरिन्छ । म्यादीमा नियुक्ति भएको ३० दिनपछि ५० प्रतिशत र बाँकी रकम अवकाशमा जानुअघि भुक्तानी दिइने मापदण्डमा उल्लेख छ । रासनबापत पाउने भत्ता नियुक्ति बुझेको १० दिनभित्र २० दिनको र बाँकी २० दिनको अवकाशमा जानुअघि उपलब्ध गराइनेछ । म्यादी प्रहरीका लागि अर्थ मन्त्रालयले ५ अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँको व्यवस्था यसअघि नै गरिसकेको छ ।

बहाल अवधिभर जिम्मेवारी निर्वाह गर्ने क्रममा कोही म्यादी घाइते भए सरकारले निःशुल्क उपचार र मृत्यु भए नजिकको हकदारलाई सरकारले ‘तोकिएबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने’ मापदण्डमा उल्लेख छ । कार्यावधिमा गैरहाजिर भए र बीचमा भागे कुनै सुविधा दिइने छैन । करार अवधिभन्दा अगावै छाड्ने अवस्था आए २० दिनभन्दा बढी काम गरेको भए कार्यरत रहेको दिनसम्मको सेवासुविधा दिइनेछ । किरिया बिदाबाहेक अरु बिदा दाबी गर्न पाइने छैन । छनोट भएको म्यादी नियुक्तिका लागि तोकिएको भन्दा ३ दिन पछि आए र नियुक्ति बुझेर पनि २ दिनसम्म सम्पर्कमा नआए छनोट रद्द गरी वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने मापदण्डमा उल्लेख छ ।

आगामी निर्वाचनमा मतदान स्थल र मतदान केन्द्रको सुरक्षामा प्रहरी र म्यादी तथा बाहिरी सुरक्षा सेना र सशस्त्र प्रहरी बल (एपीएफ) परिचालन गर्ने गरी सुरक्षा कार्ययोजना बन्ने क्रममा छ ।

म्यादी छनौट भइसकेपछि बहालरहेसम्म आचारसंहिता र मापदण्ड पालनामा कडा सर्त राखिएका छन् । कार्यअवधिभर सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभावी सामग्री राख्न र सेयर गर्न पाउन छैनन् । म्यादी प्रहरीसम्बन्धी ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ मा ड्युटीमा रहँदा मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट गर्न पाइने छैन । ड्युटीको समयमा मोबाइल फोन प्रयोग गर्न रोक लगाइएको छ । आफ्नो काम सहकर्मी वा अरु सुरक्षाकर्मीलाई बुझाएर हिँड्न पाइने छैन ।

मापदण्डविपरीत गतिविधि गरे म्यादीलाई तत्काल बर्खास्त गरी कारबाही गर्ने सम्मका प्रावधान मापदण्डमा राखिएका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका बेला आचारसंहिता र अनुशासनविपरीत गतिविधि गरेको आरोपमा करिब ५० म्यादी कारबाहीमा परेका थिए ।

 

 

सम्बन्धित समाचार