खाँदबारी । खाँदबारीदेखि नुमसम्मको सडकको स्तरउन्नतीको विषयमा जिल्ला समन्वय समिति संखुवासभाले छलफल कार्यक्रमको आयोजना गरेको छ । विहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा सरोकारवाला सवैको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै बक्ताहरुले ठेकेदार र नियामक निकाय उत्तर दक्षिण सडक कार्यालयको लापरबाहिको कारण सास्ती भोग्नु परेको बताएका छन् । ठेक्का पाएको बर्षदिन बित्दा पनि काम नगर्ने ठेकेदार र सडक कार्यालयको मिलेमतोका कारण सडकको स्तरउन्नती हुन नसकेको राजनितिक दलका प्रतिनिधीहरुले आरोप लगाएका छन् ।
दुख गरेर बजेटको ब्यवस्था गरि लगाएको ठेक्का अनुसार काम नहुँदा राजनितिक दल र दलमा आवद्धहरुले गाली खानु परेको नेपाली कांग्रेस संखुवासभाका उपसभापति अनन्त गौलीले बताउनुभयो । ‘दुख गरेर बजेटको सुनिश्चितता गर्यो, ठेक्का लगायो तर काम हुँदैन’, उपसभापति गौलीले भन्नुभयो, ‘ठेकेदारले त काम गरेन गरेन, सडक कार्यालयले के हेरेर बसेको छ ?’
कार्यक्रममा नेकपा एमाले संखुवासभाका अध्यक्ष जीतबहादुर घिमिरेले पनि तुरुन्त काम गर्न र गराउनु पर्ने बताउनुभयो । ठेकेदारले ठेक्का पाएर, पेस्की रकम लिएर बेपत्ता भएको प्रति घिमिरेले गुनासो ब्यक्त गर्नुभयो । घिमिरेले निर्माण ब्यावसायीलाई भन्नुभयो, ‘तपाईलाई कसैले काम गर्न रोकेको छ ? छ भने भन्नुस्, हामी सहजिकरण गरिदिन्छौं, नत्र ठग्ने काम बन्द गर्नुहोस ।’
कार्यक्रममा खाँदबारीदेखि नुमसम्म कालोपत्रेका निर्माण ब्यावसायी सुरेन्द्र पाठकले १४ महिना त्रि ७ प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्नुहुदै पाठकले चैत्र मसान्त सम्ममा ७ किलोमिटर कालोपत्रे गरिसक्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । उक्त समय भित्र कवोल गरेको जति काम नभए ठेक्का रद्ध गर्ने प्रकृया सुरु गरिने बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया