‘गाँजा र गोटी’ किन्न सुनको सिक्री लुटेर ६४ वर्षीय वृद्धाको हत्या



सुनसरी । गत भदौ २९ गते दिउँसो २ बजे धरान २० टोड्के बस्ने ६४ वर्षीय वृद्धा पुर्णसरी राईको आफ्नै घरमा शव फेला पर्‍यो । धारिलो हतियारले घाँटीको पछाडि प्रहार गरी उनले लगाएको सुनको सिक्री, दुवै कानको कुण्डल समेत लिएर अज्ञात समूह फरार भयो । घटना घटेको एक दिन बितेपछि मात्रै प्रहरीलाई जानकारी भयो ।
ढिलो जानकारी आएपछि प्रहरीले तत्कालै कुनै एक्सन दिन सकेको थिएन । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर, प्रहरी प्रदेश कार्यालय विराटनगर, प्रहरी सङ्घीय इकाई धरान सहित जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल आफैँ घटनास्थलमा निस्किएका थिए । घटनास्थलमा प्रहरी परिचालन भए पनि कसले हत्या गर्यो भन्ने आशङ्का समेत गर्न सकेको थिएन ।

लामो अनुसन्धान पछिहत्या आरोपमा धनकुटा जिल्लाको सागुँरीगढी गाउँपालिका ८ बस्ने श्याम कुमार राईका छोरा १८ वर्षीय निखिल भनिने नकुल राईलाई पक्राउ गर्न प्रहरी सफल भयो ।

सिक्री लुकाउन साथीको साथ

हत्या गर्न एक हप्ता अगाडी देखि नै प्रयास गरे पनि उनले आँट गर्न सकेका थिएनन् । प्रहरीलाई जानकारी आएको २९ गते २ बजे भए पनि उनले वृद्धालाई अघिल्लो दिन साँझ नै हत्या गरेका थिए । उनले शवलाई घर भित्र राखेर बाहिरबाट ढोका लगाई हत्या गर्न प्रयोग गरेको खुकुरी लुकाउन पकुवा खोलाको जङ्गलमा पुगेका थिए ।
मृतकले लगाएको सुनको सिक्री लिएर भाग्नका लागि स्थानीयको एउटा साइकल समेत चोरी गरेका थिए । उनले सुनको सिक्री लुकाउन भोक्राहा नरसिहं गाउँपालिका वडा नम्बर ६ का २० वर्षीय रञ्जित कुमार शाहलाई समेत प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राई र साहको सम्बन्ध के हो भन्ने बारे प्रहरीले खुलाएको छैन । सिक्री लुकाउन सहयोग गरेका साह पनि पक्राउ गरेका छन् । उनीहरूको बिचमा यो घटना घटाउने अगाडी देखि नै तयारी थियो या पछि चिनजान भएर लुकाउन मात्र साथ दिएको हो, अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिए । उनले भने ‘घटनामा जोडिएका पात्रको भित्री कुरा के हो हामी अनुसन्धानमै छौँ, पछि जानकारी गराउँछौँ ।’
लागूऔषधको लतले बनायो हत्यारा

हत्या आरोपित राई निकै समय देखि लागू औषधको दलदलमा फसेका व्यक्ति थिए । उनी गाउँघरमा बस्दा पनि कुखुरा चोरी गर्ने तथा सामान्य मालसामान चोरी गर्ने गरेका थिए । घर छोडेर निकै लामो समय देखि धरान, इटहरी, विराटनगरका विभिन्न स्थानमा बस्दै आएका थिए ।
उनले प्रहरी समक्ष आँफु लागूऔषध प्रयोगकर्ता भएको र सुनको सिक्री बेचेर गाँजा, तथा नसाजन्य गोटी खरिद गर्न हत्या गरेको स्वीकार गरेका छन् । घटनाबारे अन्य व्यक्ति पनि जोडिन सक्ने अनुमान प्रहरीको छ ।

एकै जनाको मात्रै हात नभएको भन्दै थप अनुसन्धान बढाएको प्रहरीले बताएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ भने सुन लुकाउने साहलाई ४ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार