चिचिलाको दिदिङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन उद्घाटन



खाँदबारी । चिचिला गाउँपालिका ३ दिदिङ डाँडागाउँमा निर्माण गरिएको सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । भवनको गाउँपालिका उपाध्यक्ष मनकला राईले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

यस अघि पुरानो गाउँ विकास समितिको कार्यालयबाट यहाँका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रवाह भईरहेको थियो । भवनको उद्घाटनसँगै ठुलो तथा फराकिलो कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको चिचिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुद्धबहादुर कुलुङले जानकारी दिनुभयो । यस स्वास्थ्य चौकीबाट बर्थिङ सेवा, ल्याब, सुरक्षित गर्भपतन सहित नियमित स्वास्थ्य सेवाहरु प्रबाह गरिने कुलुङले जानकारी दिनुभयो ।

कार्यक्रममा भवन निर्माणका लागि निशुल्क जग्गादाताहरुलाई सम्मान गरिएको थियो । जग्गादाताहरु नुदन राई, सुर्यबहादुर राई, तेजबहादुर राई र किरण राईलाई गाउँपालिकाले सम्मान गरेको हो । वडा नम्बर ३ का अध्यक्ष जीतबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राई, स्वास्थ्य शाखा प्रमुख जुद्धबहादुर कुलुङ लगायतका कर्मचारी र जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको आर्थिक तथा प्राविधिक सहयोगमा अरुण बरुण निर्माण सेवाले भवन निर्माण गरेको हो । एक करोड ७० लाख ६८ हजार ६ सय पाँच रुपैयाँ लागत रहेको यस भवनको निर्माण सम्पन्न मिति भन्दा ३ महिना अगावै सम्पन्न गरिएको हो । माघ ५, २०७७ मा सम्झौता गरिएको यो निर्माण योजना बैशाख ७, २०७९ मा सम्पन्न भएको हो ।

 

सम्बन्धित समाचार