चित्रमार्फत युरोपमा नेपाल चिनाउँदै चित्रकार तामाङ



लिस्वन । पोर्चुगलको राजधानी लिस्बनमा मःम पारखीहरुका लागि केन्द्रविन्दु हो, मःम स्टेसन । त्यही मःम स्टेसनको अर्को आकर्षण हो, भित्तामा कोरिएको चित्र । नेपाली कला, संस्कृति र इतिहास झल्काउने उक्त चित्रमा जसको पनि आँखा पुग्दछ । तिनै सुन्दर भित्तेचित्रका चित्रकार हुन्, सुरेन्द्र तामाङ ।

त्यसो त उनले मःम स्टेसनमा मात्र हैन ह्यापी लिस्बोआ रामेन एण्ड कोरियन फुड रेस्टुरेण्टमा पनि उत्कृष्ट चित्रकला प्रस्तुत गरिसकेका छन् । कोरियन खानाको स्वाद लिन गएका बिबस गुरुङले उक्त चित्रको खुलेर प्रशंसा गरे । उनी भन्छन्, ‘नेपालीको प्रतिभा विदेशमा पनि देख्न पाउँदा गर्व लाग्दो रहेछ ।’

चित्रकार तामाङ सानैबाट विभिन्न चित्रहरु बनाउँन रुचाउँथे । विद्यालयका शिक्षकहरुले उनले बनाएका चित्रको प्रशंसा गर्दा दंग पर्दथे। चित्र बनाएवापत विद्यालयस्तरमा उनले थुप्रै पुरस्कारहरु पनि पाए । त्यसबेला प्राप्त गरेका पुरस्कारहरुबाट आजको व्यवसायिक चित्रकार बन्न ठूलो प्रेरणा मिलेको तामाङको भनाइ छ ।

खोटाङको ऐसेलुखर्कमा जन्मिएका उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनी चित्रकलामा विशेषगरी एस.एल.सी.को पढाइपछि व्यवसायिक बनेका हुन् । प्लस टु पढ्दाताका उनको संगत पनि चित्रकारहरुसँग भयो । उनको रुची र साथीसंगतले व्यवसायिक चित्रकार बन्न मद्दत पुगेको बताउँछन् । उनी भन्छन्, ‘हरेक कामप्रतिको लगाव हुने हो भने एकदिन अवश्य सफल हुने रहेछ ।’ उनले पाटनमा एकल चित्रकला प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । त्यसैगरी आर्ट काउन्सिलको राष्ट्रिय चित्रकला प्रदर्शनीमा पनि आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् ।

उनमा सबै प्रकारका चित्रहरु बनाउँन सक्ने खुबी रहेको छ । चित्रकला करियरमा थुप्रै कला, संस्कृति, इतिहास, प्रकृतिलगायतको चित्रहरु कोरिसकेका छन् । देशविदेश धेरै ठाउँहरुमा चित्र बिक्री पनि भएका छन् ।

सन् २०१८ मा चित्रकार तामाङ थप अवसरहरुको खोजी गर्दै युरोप आए । अहिले उनी परिवारसहित पोर्चुगलमा बस्दै आएका छन् । युरोपमा पनि आफ्नो कलालाई निरन्तरता दिए । धेरै स्केचहरु बनाए, रेस्टुरेण्टका भित्ताहरुमा चित्रहरु रंगाए । उनी भन्छन्, ‘स्केच र वालपेन्टिङका धेरै मागहरु आएका छन्, तर रेस्टुरेण्टमा काम पनि गर्ने भएकाले पर्याप्त समय व्यवस्थापन गर्न सकिरहेको छैन ।’ तर ढिलै भएपनि माग अनुसारको चित्र बनाउँने उनको भनाइ छ ।

विदेशिएपछि राष्ट्रप्रेम अझ बढेर जाने उनको दावी छ ।उनि भन्छन्, ‘विदेशी भूमीमा नेपाललाई चिनाउँन धेरै चित्रहरु कोरेको छु ।’ उनी थप्छन्, ‘विदेशमा चित्रमार्फत आफ्नो देशलाई चिनाउँन पाउँदा सबैभन्दा बढी आनन्द मिल्दो रहेछ ।’

हेराैं चित्रकार तामाङले काेरेका केहि चित्रहरु :

सम्बन्धित समाचार