लिस्बनमा कोठाको अभाव बढ्दाे, सलबलाउँदै दलाल



लिस्वन । लिस्बनमा बस्ने सुरज उप्रेतीले कोठा खोज्न थालेको दुई महिनाभन्दा बढी भयो तर अझै पाउँन सकेको छैन । यसअघि उनी साथीहरुसँग कोठा साझेदारी गरेर बस्दै आएका थिए । फेब्रुअरी १५ मा उनको श्रीमती पारिवारिक पुनर्मिलन भिसा अन्तर्गत पोर्चुगल आउँदैछिन् । त्यसैले उनलाई छुट्टै कोठाको आवश्यकता परेको हो । त्यसो त तीन महिनाअघि साइप्रसबाट आएकी लक्ष्मी सुनुवार अहिलेसम्म चर्को मूल्य तिरेर होस्टलमा बस्दै आएकी छिन् ।

उनिहरुलाई मात्र हैन यतिखेर लिस्बनमा कोठा पाउँन धेरैलाई कठिन हुन थालेको छ। बसोबासको अनुमति प्राप्त गर्न उदार भएका कारण पोर्चुगलमा आप्रवासीहरुको संख्या बढ्दै जाँदा यस्तो समस्या आएको हो ।

पछिल्लोपटक कोभिड १९ को महामारीपछि नेपालीहरु पोर्चुगल आउने क्रम तिब्र रूपमा भइरहेको छ । सेन्जेन मुलुकका भिसा भएका मानिसहरु त सहज रुपमा आउने नै भए तर युरोपका अन्य गैरसेन्जेन मुलुकहरु रोमानिया, साइप्रस, टर्कीलगायतबाट पनि अवैधानिक रुपमा धेरै मानिसहरु आएका छन् । एक तथ्यांक अनुसार सन् २०२१को तुलनामा सन् २०२२मा दोब्बर संख्यामा आप्रवासीहरु पोर्चुगल भित्रिएका छन् । तिनिहरु बहुसंख्यक लिस्बनमा बसोबास गर्दछन् ।

आप्रवासीहरुको संख्या वृध्दि हुनु नै कोठाको चरम अभावको कारण हो । हुन त जाडो मौसममा कामका अवसरहरु पनि थोरै हुन्छन् । तर ग्रामिण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा जुनसुकै समयमा रोजगारको सम्भावनाहरु बढी हुने भएकाले लिस्बन र यस वरपर आप्रवासीहरुको बसोबास बढ्ने गरेको छ । जसले गर्दा पनि कोठाको माग बढ्दा समस्या बढेको हो ।

कोठाको चरम अभावसँगै कोठा उपलब्ध गराइदिने बहानामा ठगी पनि बढ्दै गएको छ। सामाजिक सञ्जालमा कोठा खाली रहेको झुटो विवरण पोस्ट गर्ने र कोठा हेर्नका लागि भने अग्रिम रकम जम्मा गर्नु पर्ने शर्त राखेका हुन्छन् । तर रकम प्राप्त गरेपछि बेपत्ता हुने गर्दछन् । यसरी ठग्ने र ठगिने नेपालीसँगै विदेशीहरु पनि छन् ।

यस कुरालाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ, पोर्चुगलले नेपाली समूदायलाई सचेत हुन आफ्नो फेसबुक पेजमार्फत अपिल गरेको छ । संघले आफ्नो पेजमा भनेको छ, ‘केही गलत नियत बोकेका व्यक्तिहरुले घर र कोठा मिलाइ दिन्छु भनेर बैंक ट्रान्सफर, एमबि वे, वाट्सएप लगायत नगद माध्यमबाट पैसा लिने गरेको तर पैसा लिएपछि उपलब्ध नगराइ सम्पर्कविहिन हुने गरेकोले आधिकारिक व्यक्ति वा एजेन्सिसँग मात्र कारोबार गर्नुहोला ।’ संघका अध्यक्ष रवीन अधिकारी भन्छन्, ‘ठगीमा परिएमा कानुनी उपचार र प्रमाणका लागि पनि आधिकारिक संस्था वा एजेन्सिसँग कारोबार गर्नु जरुरी हुन्छ ।’

लामो समयदेखि पोर्चुगलमा बसोबास गर्दै आउनुभएको गैरआवासीय संघ, पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमालले संघको एक कार्यक्रममा लिस्बनमा कोठाको समस्या रहेको स्वीकार गर्दै यसको समाधानका लागि नेपालीहरुबीच एकजुट हुन र एकअर्काको सहयोगमा हातेमालो गर्न आव्हान गर्नुभएको थियो ।

यता लिस्बनमा रहेको नेपालीका होटल तथा होस्टलहरु पनि भरिएका छन् । केही होस्टलहरुले मौकाको फाइदा उठाउँदै चर्को मूल्य असुल्ने गरेको गुनासोहरु पनि सुनिएका छन् । कतिपयले सस्तो मूल्यमा फ्ल्याट लिएर चर्को मूल्यमा कोठा भाडामा लगाउँने पनि गरेका छन् । तर यस्तो अवस्थामा नेपालीहरुबीच एकअर्कामा सहयोग गर्नुपर्ने पत्रकार बासु सत्यालको भनाइ छ । उनी भन्छन्, ‘जब समस्या पर्छ, त्यतिबेला आफन्तको सहयोग चाहिन्छ । त्यसैले यहीबेला हो, एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गरेर आफन्त भएको आभाष दिलाउँने ।’

साँच्चै नै यतिबेला कोठाको चरम अभाव भएको बेला एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्न सके परदेशमा पनि बलियो राष्ट्रिय एकता कायम रहनेथियो ।

सम्बन्धित समाचार