ट्याङ्करबाट तेल चोरी, चालक र पेट्रोल पम्पका सञ्चालक पक्राउ



विराटनगर । नेपाल आयल निगमको तेल बोक्ने ट्याङ्करबाट अत्याधुनिक लकिङ प्रणाली तोडेर ट्याङ्कर चालक र पेट्रोल पम्प सञ्चालकको मिलेमतोमा डिजेल चोरी भएको छ ।

नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट विराटनगरस्थित आयल निगमको डिपोमा लगिँदै गरेको ट्याङ्करको लकिङ प्रणाली तोडेर १६ हजार लिटरभन्दा बढी डिजेल चोरी भएको हो । ट्याङ्कर नै चोरी गरी दुईवटा च्याम्बरबाट १६ हजार लिटरभन्दा बढी डिजेल निकालिएको नेपाल आयल निगम प्रदेश नं. १ विराटनगरले जनाएको छ । को. १ ख ३६५५ नम्बरको ट्याङ्करबाट डिजेल निकालिएको हो ।

अमलेखगञ्जबाट विराटनगर जाँदै गरेको उक्त ट्याङ्कर शनिबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित पेट्रोलपम्पबाट हराएको थियो । आइतबार बिहान पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर शम्भूनाथ नगरपालिका–२ खैरबना जङ्गल जाने बाटोमा स्थानीय बासिन्दाहरूले बेवारिसे अवस्थामा ट्याङ्कर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

रूपनगरस्थित पेट्रोलपम्पबाट ट्याङ्कर लगेर डिजेल निकाली बेवारिसे अवस्थामा छोडेर फरार भएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा फेला परेको ट्याङ्कर हाल प्रहरी नियन्त्रणमा छ । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहका अनुसार उक्त ट्याङ्कर सप्तरीको विक्की टे«डर्सभन्दा दुईसय मिटर पर बेवारिसे अवस्थामा रहेको जानकारी पाएपछि प्रहरीले रित्तो ट्याङ्कर फेला पारेको थियो । छानबिन गर्दा चोरी भएको तेल नेपाल आयल निगमको आधिकारिक बिक्रेता दिलिप ट्रेडर्स र भण्डार आयल स्टोरलाई बिक्री गरेको खुलेको छ । निगमको आधिकारिक बिक्रेताले यसरी अनधिकृत रूपमा चोरीको तेल खरिद गर्नु कानूनविपरीत हुन्छ ।

प्रहरीले आयल निगमसँगको समन्वयमा खरिद गर्ने पेट्रोलपम्पका दुवै सञ्चालक तथा ट्याङ्कर चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेट्रोल पम्पका सञ्चालक श्यामकुमार साह रहेका छन् भने ट्याङ्कर चालक सप्तरीको कन्चनरूप नगरपालिकाका नवराज भुजेल रहेका छन् ।

उक्त ट्याङ्कर ढुवानी व्यवसायी गुणराज निरौलाको रहेको प्रहरी बताउँछ । निरौला यसअगिका पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी सङ्घ प्रदेश १ का पूर्व अध्यक्ष हुन् । ‘ट्याङ्कर धनीले ड्राइभरलाई जागिरबाट निकालेको रहेछ । उसको ठाउँमा अर्को ड्राइभर राखेको थाहा पाएपछि रिसाएका ड्राइभरले बीचैमा तेल बेचेको भन्ने कुरा आएको छ, हामी अनुसन्धानकै क्रममा छौं’–साहले भने । उनले चोरीको तेल खरिद गर्ने दुवै पेट्रोल पम्पहरू र ट्याङ्करलाई नियमावलीअनुसार कारबाही गर्न केन्द्रमा सोमबार लेखिपठाएको पनि जानकारी दिए ।

ट्याङ्करको क्षमता ४८ हजार लिटर रहेको छ । ट्याङ्करमा सामान्यतः चारवटा च्याम्बर हुने जानकार बताउँछन् । दुईवटा च्याम्बरबाट तेल चोरी भएको प्रारम्भिक जानकारी आएको निगमले जनाएको छ । ‘अहिले प्रहरीले अनुसन्धान गर्दै आएको छ’ प्रमुख साहले भने, ‘प्रहरीको थप अनुसन्धानपछि कति चोरी भएको हो, त्यो खुल्नेछ ।’ जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले अनुसन्धान भइरहेको बताए । उनले पक्राउ परेकाहरूलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए । उनले बेवारिसे अवस्थामा रहेको ट्याङ्कर ल्याइएको र हेर्दा ट्याङ्करको तेल निकाल्ने दुईवटा लक तोडिएको अवस्थामा फेला परेको बताए ।

ट्याङ्करमा २० हजार लिटर डिजेल रहेको र चोरी गरी लानेले सबै लगेको वा ट्याङ्करभित्र डिजेल बाँकी रहेको बारे हेर्ने काम भइरहेको बताए । यसअगि पनि गत माघमा इन्डियन आयल कर्पोरेशनबाट नेपाल आयल निगमको विराटनगर डिपोमा आएको ट्याङ्करबाट २५ सय लिटर डिजेल चोरी भएको घटना सार्वजनिक भएको थियो । तर, निगम भने एकाध घटनालाई लिएर पूरै प्रणालीलाई दोष लगाउन नमिल्ने बताउँछ । निगमले जे जस्तो दाबी गरे पनि ट्याङ्कर लकिङ प्रणाली जडान गरेपछि पनि पटक–पटक इन्धन चोरिनुले लकिङ प्रणालीमाथि नै प्रश्न उठेको छ ।

सम्बन्धित समाचार