वर्षाले खेल रद्द भएपछि नेपाल सेमिफाइनलमा



काठमाडौँ । नेपाल र साउदी अरेबियाबीच एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार हुने खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय खेल निरन्तर वर्षाका कारण रद्द भएपछि नेपाल सेमिफाइनल पुगेको छ ।

अघिल्लो दिनको साँझ वर्षाका कारण मैदान भिजेको कारण दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको थियो । बिहान ११ बजे देखि पुनः वर्षा भएपछि खेल रद्द हुन पुगेको थियो । दिउँसो १२:३० बजे दुवै टोलीका खेलाडीले हात मिलाउँदै अंक बाँडेका थिए ।

मूलपानीमा दिनभरी नै वर्षा हुने मौसम पूर्वानुमान छ । बिहान मूलपानी आएपछि नेपाल र साउदी अरेबियाका दुवै खेलाडीले मैदान निरीक्षण गरेका थिए । वर्षा पुनः सुरु भएपछि दुवै टोली पेभेलियन भित्र बसेका थिए ।

दिउँसो २:१५ बजेपछि पनि खेल हुने सम्भावना नरहेमा खेल नहुने आधिकारिक घोषणा गरिने समय राखिएको थियो । खेल हुने कुनै सम्भावना नै नरहेपछि म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले त्यसको झन्डै २ घन्टा अघि नै खेल रद्द भएको घोषणा गरेका थिए ।

दुई ठूला प्रतिद्वन्द्वी मलेसिया र ओमानमाथि विजय हात पारेको नेपाल सोमबारको नतिजापछि समूह ‘ए’ मा ५ अंक पुगेको छ । साउदी र ओमानबीचको लिगको अन्तिम खेल क्वार्टरफाइनल सरह हुने भएको छ र जो जितेमा उही सेमिफाइनल पुग्ने छ । साउदीको ३ अंक र ओमानको ४ अंक छ ।

साउदीले पछिल्लो खेलमा कतारलाई ७ विकेटले स्तब्ध पारेको थियो । नेपालसँग पराजित ओमानले कतार र मलेसियालाई पराजित गरेको थियो । नेपालले अन्तिम खेल कतारसँग खेल्ने छ र यो खेल जितेमा समूह विजेता भएर सेमिफाइनल पुग्ने छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हङकङ र बहराइन बीचको खेल पनि वर्षाका कारण हुन सकेको छैन ।

 

सम्बन्धित समाचार