चिचिलामा भएकाे के हाे ? के भन्छन् जानकार र सराेकारवालाहरु ?



चिचिला गाउँपालिका ४ काे बलाैटेमा विद्यालय ब्यवस्थापन समिति गठनकाे विषयलाई लिएर त्यहिकाे सरस्वती माविमा कार्यरत शिक्षक मिलन बास्ताेला माथि कुटपिट भएकाे भनेर सामाजिक सञ्जालमा चर्चा पायाे । शिक्षक बास्ताेलाले घाईते अवस्थाकाे फाेटाे आफ्नाे फेसबुकमा पाेष्ट गर्दै ‘विद्यालय ब्यवस्थापनकाे गठनकाे निउमा एउटा शिक्षक माथि यसाे गर्नुलाई के भन्नुहुन्छ’ लेखेपछि याे घटनाले चर्चा पायाे ।

साे घटनालाई लिएर नेकपा माओवादी केन्द्रकाे शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन सङ्खुवासभाले उक्त्त घटनाकाे विराेध गर्दै कारवाहिकाे माग सहित विज्ञप्ति निकाल्याे । उक्त विज्ञप्तिमा सुजन दर्जी, काेषराज राई र प्रमाेदकिरण पाैडेल लगायतले कुटपिट गरेकाे बताईएकाे छ । याे घटनाकाे विराेधमा एकिकृत अखिल नेपाल शिक्षक संगठन चिचिलाले समेत विज्ञप्ति निकाल्याे ।

याे घटनाले चासाे र चर्चापछि घटनाकाे वास्तविकता साेधी खाेजी गरेका छाैं । यस क्रममा सवैभन्दा पहिले चिचिला गाउँपालिकाका शिक्षा अधिकृत बासु काेईरालासँग कुराकानी गरेका छाैं । यस घटनाकाे बारेमा घटनाका जानकारहरुसँग आफुले पनि साेधिखाेजी गरेकाे बताउनुभयाे । घटना स्थलमा भएका र छिमेकीहरुसँग बुझ्दा कुटाई खाने भनिएकाे शिक्षक र कुटपिट गर्ने भनिएकाहरु राती अबेरसम्म मादक पदार्थ सेवन गरेर बसेकाे र उनीहरुलाई अत्याधिक मात लागेपछि उनीहरु विच नै बिवाद भई हात हालाहाल भएकाे जानकारी प्राप्त भएकाे काेईरालाले बताउनुभयाे । शिक्षक जस्ताे मर्यादित पेशाकर्मी मध्यरातसम्म मादक पदार्थ सेवन गरेर झैझगडा गर्नु शाेभनीय नभएकाे काेईरालाकाे तर्क छ ।

कुटाई खाने शिक्षक बास्ताेलाले विद्यालय ब्यवस्थापन समिति गठनकाे विषयमा कुटपिट भएकाे प्रतिकृया दिएपछि सरश्वती माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बालकुमार तामाङसँग पनि कुरा गरेका छाैं । बैशाख २५ गते दिउँसाे विद्यालय ब्यवस्थापन समिति गठन सम्बन्धि बैठक भएकाे भए पनि काेहि कसैले बिवाद गर्नु पर्ने विषय नै नरहेकाे अध्यक्ष तामाङकाे भनाई छ । विद्यालय ब्यवस्थापन समितिकाे अध्यक्ष चुन्न वडाकाे सिफारिसमा छानिने भएकाेले शिक्षकहरुकाे कुनै हात नहुने समेत स्पष्ट पार्नुभयाे । शिक्षक भएर पनि मादक पदार्थ सेवन गरि आफै झैझगडामा संलग्न भएर विद्यालयकाे बद्नाम गरिएकाे अध्यक्ष तामाङकाे ठहर छ ।

याे घटनामाका प्रत्यक्षदर्शी तथा घटना भएकाे घरधनी नरजीवन थापाका अनुसार झडपकाे घटना राती करिब १२ बजे भएकाे थियाे । साेहि विद्यालयकाे लेखापाल समेत रहनुभएका थापाले उनीहरु करिव ९ बजेतिर भेला भएर मादक पदार्थ सेवन गर्न थालेकाे बताउनुभयाे । उनीहरुले ‘भुन्टे’ भनिने रक्सि १३ बाेतल पिईसकेपछि भनाभन सुरु गरेका थिए । उनीहरुकाे बिवादकाे कारण गठन हुन लागेकाे विद्यालय ब्यवस्थापन समितिकाे विषय नभएकाे थापाले स्पष्ट पार्नुभयाे । झगडापछि हात हालाहालकाे अवस्था भएपछि आफुले पनि छुट्टाएकाे थापाले बताउनुभयाे ।

यस घटनाकाे विषयमा शिक्षक मिलन बास्ताेलासँग सम्पर्क गर्दा आफु थप उपचारकाे लागि घाेपा क्याम्पमा रहेकाे जानकारी दिनुभयाे । घटनामा संलग्नहरुले विद्यालय ब्यवस्थापन समिति चयनकाे विषयलाई लिएर आफुलाई आक्रमण गरेकाे बताउनुभयाे । राती अबेरसम्म बसेर मादक पदार्थ सेवन गरेकाे विषयमा कुरा गर्दा उहाँले पछि कुरा गर्ने भन्दै फाेन काट्नुभयाे । उहाँ उपचारकाे क्रममा अस्पतालमा रहनुभएकाेले दाेहाेर्याएर सम्पर्क गरेनाैं । उहाँबाट थप जानकारी पछि पनि आउला ।

सम्बन्धित समाचार