पोर्चुगलका समाजसेवी तिलक गैरेले एनआरएनएको आइसिसि सहकोषाध्यक्षमा उम्मेद्वारी दिने



लिस्वन । पोर्चुगलमा नेपाली समूदायको सुख दु:खको सारथी बनेका गैरआवासीय नेपाली संघ, युरोप क्षेत्रका उप-संयोजक तिलकप्रसाद गैरेले संघको एघारौं महाधिवेशनमा सह-कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

लामो समयदेखि पोर्चुगलमा व्यवसाय गरिरहेका उप-संयोजक गैरेले लिस्वनमा एक कार्यक्रमको आयोजना गर्दै उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले विगतमा आफू संघको पोर्चुगलको नेतृत्वमा रहँदा यहाँको समस्याहरुलाई अझ नजिकबाट नियाल्ने मौका पाएको बताउदै ती समस्याहरुलाई समाधान गर्नका लागि आफू केन्द्रीय नेतृत्वमा पुग्नुपर्ने बताउनु भयो ।

गैरेले कोभिड महामारीको बेलामा पोर्चुगलमा उपचारार्थ नेपालीहरुलाई खाना तथा बसोबासको व्यवस्थाका लागि पोर्चुगिज सरकारसँग पहल गरेका थिए । उक्त समयमा नेपालमा अक्सिजन सिलिण्डर अभाव हुँदै गर्दा नवलपुर जिल्ला अस्पतालमा आवश्यक सामाग्रीरुका साथै अशक्तहरु तथा विरामीहरुका लागि व्हिलचियर समेत वितरण गरेका थिए ।

पोर्चुगलमा नेपाली समूदायको जनसंख्या वृध्दिसँगै विभिन्न समस्याहरु पनि बढ्दै गइरहेको छ । यसलाई मध्यनजर गर्दै गैरेले नेपाली समूदायको समस्याका लागि सरकारको उपस्थिति र सरकारबाट सहयोग प्राप्त गर्न मूख्य पहल गर्ने समेत जानकारी दिनुभयो । उहाँले कोरोनाको बेलामा घरबारविहिन भएका नेपालीहरुलाई बस्ने व्यवस्थापनदेखि राहदानी बनाउन आर्थिक अभाव भएकाहरुलाई सहयोग पनि गरेका थिए ।

त्यसैगरी कुलतमा फसेका नेपालीहरुलाई नेपाल पठाउने, बेरोगजगार भएकाहरुलाई रोजगार तथा आर्थिक सहयोग गर्ने गरेको उनले बताए । आई.आर.एस.मा जरिवाना तिर्नपर्ने व्यक्तिहरुको समस्या न्युनिकरणमा समेत सहजीकरण गर्ने गरेका उम्मेद्वार गैरे एघारौं महाधिवेशन (२०२३–२०२५) का लागि सह-कोषाध्यक्ष पदका बलियो उम्मेद्वार हुन् ।

पछिल्लो समय पोर्चुगलमा असामयिक निधनका घटनाहरु बढिरहेको छ । त्यसको व्यवस्थापनमा सधैं रकम सङ्कलन गरेर मात्र सम्भव नहुने हुँदा यसका लागि केन्द्रको पनि सहयोग र समन्वय जुटाउन आफ्नो उम्मेद्वारी रहेको उहाँले बताउनु भयो ।

आफ्नो सामाजिक अभियानमा सहयोग गर्न उहाँले पोर्चुगलमा रहेका विभिन्न राजनीतिक, सामाजिक, क्षेत्रिय तथा जातिय संघसंस्था तथा आम नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार