बहिरा तथा सुस्त श्रवण भएका बालबालिकालाई यसरी पढाउँदैछ महेन्द्र मावि (भिडियाे सहित)



खाँदबारी । पुर्वी पहाडी जिल्लाको एक मात्र बहिरा तथा सुस्त श्रवण श्रोत कक्षा एक जनाको भरमा सञ्चालन गर्नु परेको छ । कान नसुन्ने तथा बोली नआउनेहरुलाई पढाउन १ देखि ५ कक्षासम्म एक जना शिक्षकले धान्नु परेको हो ।

खाँदबारी नगरपालिका ३ स्थित महेन्द्र माध्यमिक विद्यालयले सञ्चालन गरेको श्रोत कक्षाको लागि ३ जना शिक्षकहरुको दरबन्दी हुनु पर्नेमा हाल एक जना मात्र शिक्षकले ५ वटा कक्षाका विद्यार्थीहरुलाई पढाउन बाध्य रहेको प्रधानाध्यापक मेदिनी घिमिरेले जानकारी दिनुभयो । १६ जना विद्यार्थी रहेको उक्त श्रोत कक्षामा साँङ्केतिक भाषाबाट एक जनाले अध्यापन गराउनु निक्कै चुनौतिपूर्ण रहेको प्रधानाध्यापक घिमिरेले जानकारी दिनुभयो ।

हाल सवै विद्यार्थीहरुलाई एउटै कोठामा राखेर पढाउनु परेको उहाँले बताउनुभयो । बहिरा तथा सुस्त श्रवण श्रोत कक्षाको लागि दरबन्दी थप गरि शिक्षकको ब्यवस्थापन गर्न सम्बन्धित निकायहरुमा माग गरिए पनि हालसम्म प्राप्त नभएको उहाँले बताउनुभयो । पछिल्लो समय विद्यार्थीहरुको संख्या बढ्ने क्रममा रहेकोले अब कुनै हालतमा थप शिक्षकको ब्यवस्था गर्नु पर्ने बाध्यता रहेको प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।

यहाँको श्रोत कक्षामा भोजपुर र सङ्खुवासभाका विद्यार्थीहरु अध्ययन गरिरहेको प्रधानाध्यापक घिमिरेले जानकारी दिनुभयो । बहिरा तथा सुस्त श्रवण श्रोत कक्षाका सवै विद्यार्थीहरुलाई ब्यवस्थित र सुविधा सम्पन्न आवासीय ब्यवस्था गरिएको घिमिरेको भनाई छ । फराकिलो तथा ब्यवस्थीत सुत्ने कोठा, गिजर सहितको स्नान कोठा, लुगा धुनको लागि वासिङ मेसिनको ब्यवस्था लगायतको सुविधा छात्रबासमा राखिएको उहाँले जानकारी दिनुभयो । उनीहरुको आवासीय ब्यवस्थापनको लागि एक जना कर्मचारीको ब्यवस्थापन गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

श्रोत कक्षा सञ्चालनको लागि प्रति विद्यार्थी बार्षिक ४० हजार रुपैयाँ सरकारबाट प्राप्त हुने गरेको र अपुग खर्च विभिन्न ब्यक्ति तथा दाता संघसंस्थाहरुबाट सहयोग प्राप्त हुँदै आएको प्रधानाध्यापक घिमिरेले जानकारी दिनुभयो । सरकारबाट शिक्षक जनशक्ति प्राप्त भए ८ सम्मका कक्षाहरु सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । हालसम्म यहाँबाट कक्षा ५ उत्तिर्ण गरेकाहरु थप शिक्षाका लागि धरान जानु पर्ने बाध्यता छ । तर खर्च अभावका कारण एकध बाहेकले कक्षा ५ मा नै पढाईको अन्त्य गर्नु परेको छ ।

 

सम्बन्धित समाचार