पोर्चुगलमा मानवीय उद्दारको सारथी बन्दै एनआरएनए



लिस्वन । गत महिना माल्टाहुँदै पोर्चुगल आएका महेन्द्र कार्की एकाएक बास बसेको होस्टलबाट हराए । भर्खर पोर्चुगल आइपुगेका कार्की हराएपछि उनको परिवारमा ठूलो चिन्ता पर्यो ।परिवारले खोजिका लागि गैरआवासीय नेपाली संघ, पोर्चुगललाई अनुरोध गरेपछि संघले आफूभित्रको सञ्जाललाई खोजि कार्यमा खटायो । सहयोगका लागि प्रहरीलाई पनि अनुरोध गर्यो । अन्तत: उनी भेटिए ।

त्यसो त कार्की जस्तै अर्का युवा अरुण खत्री पनि सम्पर्कविहिन भएकोले खोजि कार्यका लागि उनको परिवारबाट अनुरोध आएपछि संघले खोजि गरी परिवारसँग सम्पर्क गराएको थियो । खत्री अहिले संघकै पहलमा नेपाल गइसकेको छ ।

केही दिन अघि मात्रै फारोमा दुर्घटनामा परी घाइते भएका राजु बिकको उपचारमा संघका सहकोषाध्यक्ष नवीन थापाले प्रत्यक्ष संलग्न भएर सहयोग गरिरहनुभएको छ ।

बसोबास अनुमतिका लागि उदार मानिएको पोर्चुगल हिजोआज धेरै नेपालीहरुको गन्तव्य बन्दै आइरहेको छ । मानिसको वृध्दिसँगै समस्याको चाङहरु पनि बढ्दै गइरहेको छ । त्यही समस्या सुनाउने र समाधान खोज्ने थलो बनेको छ, गैरआवासीय नेपाली संघ, पोर्चुगल ।

गत जुलाई ३० मा राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति मानवीय उद्दारका लागि सारथी नै बनेको छ । संघका अध्यक्ष उमेशकुमार खड्का भन्छन्, ‘हाम्रो उद्देश्य नेपाली समूदायमा परेको समस्या समाधान गर्ने नै हो । यसका लागि संघ निरन्तर खटिरहेको छ ।’ कतिपय समस्याहरु समाधानका लागि संघको पहुँच र सामार्थ्य नपुग्न सक्छ, यस्तोबेलामा नेपाल सरकार र पोर्चुगिज सरकारसँग समन्वय गर्ने गरेको अध्यक्ष खड्काको भनाइ छ ।

हुन त अझै पनि विगतका नेतृत्वमा रहेका केही मानिसको व्यक्तिगत आचरणले संघलाई गलत बुझ्नेहरु पनि छन् । त्यस्ता भ्रमलाई चिर्न र जनतासँग सहज सम्पर्क बढाउन संघले सूचना केन्द्रको तयारी गर्न लागेको एक सदस्यले जानकारी दिए ।

पछिल्लो समय पोर्चुगलमा नेपालीहरुको असामयिक दुःखद निधन हुने गरेको छ । नयाँ कार्यसमिति निर्वाचित भएपछि मात्रै केही प्राकृतिक तथा अप्राकृतिक मृत्युहरु भएको र तिनको व्यावस्थापनमा लागेको संघका महासचिव भुवन कँडेलले जानकारी दिए ।

सम्बन्धित समाचार