सङ्खुवासभामा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने



खाँदबारी। जिल्ला सदरमुकाम खाँदबारीमा कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । खाँदबारी स्थीत सोमनाथ मेमोरियल ईन्डोर स्टेडियममा असार ६ देखि ८ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

जिल्ला ब्याटमिन्टन संघ सङ्खुवासभाको आयोजनामा प्रदेश स्तरीय पुरुष डबल, भेट्रान्स डबल र जिल्ला स्तरीय बि डिभिजन गरि ३ बिधामा प्रतियोगिता हुने भएको हो । पुरुष डबल प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरुको सहभागिता रहनेछ भने भेट्रान्स तर्फ खुल्ला प्रतिष्पर्धा रहेको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । भेट्रान्स विधामा भारतबाट समेत सहभागी हुने उहाँले जानकारी दिनुभयो । भेट्रान्स टिममा सहभागी हुनको लागि दुवै खेलाडीको उमेर न्युनतम ४० बर्ष पुगेको हुनु पर्नेछ र दुवै खेलाडीको उमेर जोड्दा १०० भन्दा माथी हुनु पर्ने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बि डिभिजन तर्फ सङ्खुवासभाका खेलाडीहरुको मात्र सहभागीता रहने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष डबलतर्फ विजयी हुने टिमले नगद ६० हजार रुपैयाँ पाउने छन् । उपविजेताले ३५ हजार रुपैयाँ पाउने छन् भने सेमि फाईनल खेल्ने दुवै टिमले प्रति टिम १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । भेट्रान्सतर्फका विजयी टिमले नगद ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन । सेमिफाईनल खेल्ने दुवै तर्फका टिमले प्रति टिम ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जिल्लाको बि डिभिजन तर्फका विजेता हुने टिमले नगद २० हजार रुपैयाँ, उपविजेता हुने टिमले १० हजार र सेमिफाईनल खेल्ने दुवै टिमले प्रतिटिम ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस प्रतियोगिताबाट संखुवासभाको प्रचारमा सहयोग पुग्नुका साथै नयाँ खेलाडीहरुलाई हौसला प्रदानगरी खेलाडी उत्पादनमा सहयोग पुग्ने संघका सचिव रुद्रमणी श्रेष्ठको भनाई छ । प्रतियोगिता सञ्चालनको लागि ९ लाख रुपैयाँ भन्दा बढि बजेट आवश्यक रहेको आयोजकले जनाएको छ । त्यस मध्ये खाँदबारी नगरपालिकाले ५ लाख रुपैयाँ उपलब्ध गराउने बाहेकका रकम अन्य दाताहरुबाट सहयोग संकलन गरिने संघका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार