खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौँथो मादी राष्ट्रिय खुल्ला ब्याटमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । ओखरबोटे स्थित मादी नगरपालिकाको कभर्डहलमा भोलीबाट (विहिबार) बाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको मुल आयोजक समिति संयोजक एवम् नगर प्रमुख जिवन लिङ्थेपले जानकारी दिनुभयो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा आयोजनाको उद्घाटन गरिने नगर प्रमुख लिङ्थेपले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभाका लागि सङ्खुवासभा निर्वाचन क्षेत्र नम्बर २ का साँसद विदुर कुमार लिङ्थेपको पनि विशेष आतिथ्यता रहने नगर प्रमुख लिङ्थेपले जानकारी दिनुभयो । प्रतियोगिता दिउँसो ११ बजे उद्घाटन गरिने छ । प्रतियोगिता चैत्र ३ गते सम्पन्न हुनेछ ।
गत बर्षहरुमा जस्तै यस बर्ष पनि तीन विधामा प्रतियोगिता गराईने नगर प्रमुख लिङ्थेपले जानकारी दिनुभयो । मेन्स डबल, वोमन डबल र मेन्स डबल भेटरन्स ईभेन्टमा स्थानीयदेखि राष्ट्रिय खेलाडीहरुले प्रतिष्पर्धा गर्ने उहाँले बताउनुभयो । तीन ईभेन्टमा ५० भन्दा बढि टिमले प्रतिष्पर्धा गर्ने नगर प्रमुख लिङ्थेपले जानकारी दिनुभयो ।
मेन्स डबल तर्फका प्रथम, द्वितीय र तृतीय हुने २ टिमले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ७५, ५० र २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मेन्स डबल भेटरन्स तर्फका प्रथम, द्वितीय र तृतीय हुने २ टिमले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५०, ३० र १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै वोमन डबल तर्फ प्रथम, द्वितीय र तृतीय हुने २ टिमले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ४०, ३०, १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खेलको मकालु स्पोर्टस युटुब च्यानल र फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
प्रतिक्रिया