सिंहदरबारमा एसएलआर ताक्ने युवामाथि यसअघि नै ज्यान मार्ने उद्योगसहित ८ मुद्दा



 काठमाडौं । देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल ९एसएलआर० कक गर्दै पोजिसन लिने व्यक्ति पक्राउ गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित ब्रान्चले जेनजी आन्दोलनको क्रममा एलएलआर हतियारमार्फत पोजिसन लिएर उच्छृंखल गतिविधि गर्ने ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने व्यक्ति सम्राट भनेर चिनिने राजु परियार हुन् । ललितपुर महानगरपालिका(१३ कुसुन्ती घर भएका ३६ वर्षीय परियारले २४ भदौमा भएको जेनजी आन्दोलनमा राइफल लिँदै उच्छृखंल गतिविधि गरेको भिडिओ, तस्वीर भाइरल बनेको थियो ।

टाउकामा क्याप र मुखमा कालो मास्क लगाएका परियारले माथिको कपडा भने फुकालेका थिए । उनको छातीमा ट्याटु खोपेको पनि भिडिओमा देखिन्थ्यो ।

ट्राउजर र चप्पल लगाएका ती व्यक्ति सिंहदरबार तोडफोड र आगजनीमा अग्रमोर्चामा रहेको आशंका प्रहरीको छ । उनै परियारले सुरक्षाकर्मीको स्वचालित एसएलआर हतियार लुटेर आतंक सिर्जना गरेका थिए ।

राइफल बोकेर पोजिसन लिएको तस्वीर भाइरल भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत उनको खोजी सुरु गरेको थियो । घटनाको एक महिनापछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

सार्वजनिक भिडिओअनुसार व्यक्ति पहिचान गरी पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले पुष्टि गरे ।

उनलाई आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउन लागिएको छ । त्यही प्रयोजनका लागि अपराध अनुसन्धान कार्यालयले परियारलाई परिसर काठमाडौंको जिम्मा लगाएको छ ।

हतियार सेनालाई बुझाएको दाबी, छैन केही प्रमाण

शारीरिक रूपमा निकै हट्टाकट्टा देखिने परियारलाई पक्राउ गर्न प्रहरी पुग्दा उनी उल्टै प्रहरीमाथि जाइलागेका थिए । मंगलबार साँझ पक्राउ गरेर प्रहरीले उनीमाथि सामान्य सोधपुछ गरेको थियो ।

तर, आफूले बोकेको हतियार भने उनले सुरक्षाकर्मीलाई बुझाएको दाबी गरेका थिए । ‘मैले नेपाली सेनालाई त्यो हतियार बुझाएको हुँ,’ परियारले प्रहरीसमक्ष भनेका थिए ।

परियारमाथि ८ वटा मुद्दा चलेको प्रमाण भेटपछि प्रहरी अधिकारीहरू नै छक्क परेका छन् ।
तर, सेनालाई हतियार बुझाएको कुनै प्रमाण भने फेला पगरेको प्रहरीले बताएको छ । बुझाउँदाको भिडिओ रहेको दाबी गरे पनि प्रहरीले उनको मोबाइल हेर्दा हतियार बुझाएको कुनै प्रमाण फेला परेन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनी जेनजी आन्दोलनमा सहभागी हुनेभन्दा पनि मौकामा उच्छृंखल गतिविधिमा संलग्न भएको देखिएको छ । उमेर ३६ वर्ष भइसकेको र आपराधिक पृष्ठभूमिका कारण परियार आगजनी र तोडफोडकै लागि उत्रिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

परियारले उक्त हतियार भने सर्वोच्च अदालतभित्र रहेको प्रहरी कार्यालयबाट लुटेको बताएका छन् ।

एसएलआर बोकेर सिंहदरबारको गेट अगाडि पोजिसन लिएको भिडिओ, तस्वीर भाइरल बने पनि उनको यकिन नाम तथा ठेगाना खुलेको थिएन । प्रहरीले लामो अनुसन्धानपछि उनको ठेगाना पत्ता लगाएको थियो ।

त्यसपछि बल्ल उनी पक्राउ परेका थिए । पक्राउ गरेपछि प्रहरीले अनुसन्धान गर्दै विगतको ट्र्याक रेकर्ड केलाउँदा परियार ८ वटा मुद्दा चलेका व्यक्ति रहेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो । गंगामाया देउलाले उनीविरुद्ध जाहेरी दिएकी थिइन् । ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण गरिएको गंगामायाको भनाइ थियो ।

त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरबाट पनि परियारविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको सीआरएस(क्रिमिनल रेकर्ड सिस्टम)मा भेटिएको छ । ललितपुरमा भने रोमन महर्जनले उनीविरुद्ध जाहेरी दिएका थिए ।

दुईवटा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका परियारविरुद्ध ठगीदेखि बैंकिङ कसुरको मुद्दा चलेको रेकर्ड पनि भेटिएको छ ।

प्रहरी वृत्त नयाँबानेश्वरमा परियारविरुद्ध रवि तामाङले ठगीको जाहेरी दिएका थिए । त्यस्तै प्रहरी वृत्त महाराजगञ्जबाट बैंकिङ कसुरमा मुद्दा चलेको रेकर्ड भेटिएको छ । उनीविरुद्ध राजकुमार खड्कीले बैंकिङ कसुरको जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरमै परियारविरुद्ध ठगी कसुरको अर्को मुद्दा चलेको थियो । मिक्सार तामाङ नाम गरेका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएका थिए ।

प्रहरी वृत्त स्वयम्भूमा परियारविरुद्ध सुदन बैजुले ठगीको जाहेरी दिएका थिए । यो कसुरमा पनि उनीविरुद्ध मुद्दा चलेको भेटिएको छ ।

यो बाहेक उनीविरुद्ध दुईवटा अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको भेटिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा गोविन्द रिमालको जाहेरीले अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

प्रहरी वृत्त नयाँबानेश्वरमा रवि तामाङको जाहेरीपछि परियारविरुद्ध अभद्र व्यवहारको मुद्दा चलेको रेकर्ड भेटिएको छ ।

कसुन्ती घर भएका परियारले लाइसेन्सको बिचौलियाको काम गर्ने गरेको पनि प्रहरी अधिकृतहरू बताउँछन् । लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिएरसमेत ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

अहिले सबैजसो प्रहरी कार्यालयहरू जलेर कागजात र रेकर्ड सिस्टम नै नष्ट भएकाले उनीविरुद्धका मुद्दा फर्स्योट भइसके वा कस्तो अवस्थामा छन् भन्ने प्रहरीले अहिलेसम्म खुलाउन सकेको छैन ।

कुन मुद्दा चालु अवस्थामा छ वा कुन मुद्दा किनारा लागिसकेको छ भन्नेबारे अहिले बुझ्ने काम भएको प्रहरीले बताएको छ ।

परियारमाथि ८ वटा मुद्दा चलेको प्रमाण भेटपछि प्रहरी अधिकारीहरू नै छक्क परेका छन् । यस्ता गतिविधि गर्नेमा जेनजीभन्दा पनि यस्तै आपराधिक पृष्ठभूमिका व्यक्तिको हात हुनसक्ने प्रहरी अधिकारीहरूले विश्लेषण गरेका छन् ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..