खाँदबारी । किराँत कुलुङ समाज दक्षिण कोरियाको तर्फबाट २०८२ को एसईई परिक्षामा उत्तिर्ण हुने विद्यार्थी भीम कुलुङले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । सोलुखुम्बुको महाकुलुङ ३ मामेर्कुका कुलुङले छेस्काम माविबाट एसईई परिक्षा दिई ३.७७ जिपिए ल्याएका थिए ।
किरात कुलुङ समाज दक्षिण कोरियाले परिक्षा अघि नै सर्वाेत्कृष्ठ जिपिए ल्याउने कुलुङ विद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको थियो । विद्यार्थीको आधिकारिक कागजातमा जातिमा ‘कुलुङ’ मात्र भएका विद्यार्थी मध्येबाट विजेता छान्ने जानकारी गराएको थियो ।
समाजले एसईई परिक्षाको नतिजा लगत्तै उक्त पुरस्कार दावी गर्नको लागि एक हप्ताको समय दिई सूचना जारी गरेको थियो । उक्त सूचना पश्चात प्रोत्साहन पुरस्कार दावी गर्ने मध्ये भीम कुलुङ छनोट भएको समाजका अध्यक्ष उदिप कुलुङले जानकारी दिनुभयो । ‘दावी गर्नेहरु मध्ये भीमको भन्दा बढि जिपिए ल्याउने विद्यार्थीहरु पनि थिए, तर हामीले यस अघि नै जातिमा कुलुङ मात्र भएकालाई प्रदान गर्ने घोषणा गरेका थियाैँ’, अध्यक्ष कुलुङले भन्नुभयाे ।
पुरस्कृत हुने कुलुङलाई केहि समय भित्र नै कुनै एक औपचारिक कार्यक्रममा सम्मान पत्र सहित उक्त नगद हस्तान्तरण गरिने समाजका सचिव कृष्ण कुलुङले जानकारी दिनुभयाे ।


प्रतिक्रिया