विराटनगर । कोशी प्रदेशका झापा, सुनसरी, तेह्रथुम र धनकुटा जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। प्रहरीले नियमित चेकजाँच तथा विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
झापाको झापा गाउँपालिका–३ मा भारतको किशनगञ्ज निवासी मोहम्मद फारुकलाई ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर र बीआर ३७ बीए ५८५९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, सुनसरीको धरान–१५ का बासु बुढाथोकी र धरान–१० का युकेश मगरलाई इमाडोल र डिकोलिक गरी कुल ४ हजार ६१५ पिस लागूऔषधसहित नियन्त्रणमा लिइएको छ।
त्यसैगरी, सुनसरीको इनरुवा–२ स्थायी घर भई हाल तेह्रथुमको म्याङलुङ नगरपालिका–७ मा बस्दै आएका सहनिवाज अलीलाई ट्रामाडोल र डाइक्लोपाम गरी १०० ट्याब्लेटसहित पक्राउ गरिएको छ।
उता धनकुटाको सहिदभूमि गाउँपालिका–६ निवासी रविन राईलाई उनकै घरबाट ट्रामोल ७५० क्याप्सुल र डाइक्लोमाइन ८३० ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।


प्रतिक्रिया