देवानगञ्ज घटनाः कोशी प्रदेश सरकारले मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार राहत दिने



खाँदबारी । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ तथा घर, पसल र अन्य आगजानीबाट प्रभावित परिवार र घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले राहत घोषणा गर्दै सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णयसमेत गरेको हो।

साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आयोजित बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

बैठकले सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षबीच समन्वयात्मक पहल गर्ने निर्णय गरेको छ। यसका लागि स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

यस्तै, सामुदायिक तहमा मेलमिलाप र सामाजिक सद्भाव प्रवर्द्धन गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा, सार्वजनिक अपिललगायतका कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ।

बैठकले सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम गर्न समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्ने, सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउनुपर्ने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी, घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संवेदनशील परिस्थितिमा सबै पक्षले सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सबै सरोकारवालालाई आग्रह गरे।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा (एमाले) का प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार