भरतपुर घटनाको छानविन टोलीले आयोगलाई प्रतिवेदन बुझायो



१७ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले बुधबार निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।

टोलीले सोमबार नै यहाँ आएर काम थालेको थियो । मङ्गलबार दिउँसो काम सकेर फर्किएको टोलीले आज आफ्नो प्रतिवेदन आयोगमा बुझाएको हो ।

आयोगले यो विषयलाई छिटो टुङ्ग्याउने पक्षमा छ, प्रवक्ता शर्माले भने, ‘निर्वाचन आयुक्तहरुले सम्भवतः आजै बैठक बसेर यसबारे निकास निकल्न सक्छ ।’

टोलीमा सहजकर्ताका रुपमा सहभागी हुनुभएका उपसचिव कृष्ण अधिकारीकाअनुसार टोलीले आफ्नो राय दिन नमिल्ने भएकाले भेट गरेका व्यक्तिले जे-जस्तो बताएका छन्, ती भनाइलाई प्रतिवेदनमा समावेश गरिएको छ ।

टोलीले यहाँका राजनीतिक दलका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँगसमेत रायसुझाव लिएको थियो । रासस

सम्बन्धित समाचार