सङ्खुवासभामा कबर्ड हल नहुँदा ब्याडमिन्टन खेल सञ्चालनमा समस्या



सङ्खुवासभा, मंसिर १ गते । सङ्खुवासभामा कबर्ड हल नहुँदा ब्याडमिन्टन खेल सञ्चालनमा समस्या परेको छ । जिल्लामा ब्याडमिन्टन खेल प्रति युवाहरु आकर्षित हुँदै गएपनि जिल्ला भित्र हल नहुँदा ब्याडमिन्टन खेलको विकास हुन सकेको छैन ।

ब्याडमिन्टन खेल खेल्दा सामान्य हावा र पानीले नै असर गर्ने भएकोले कबर्ड हल अनिबार्य भए पनि हल नभएपछि त्रिपाल टाँगेर खेल सञ्चालन गर्ने गरेका छन् । विभिन्न समयमा ब्याटमिन्टन खेल सञ्चालन गर्दा सरकारी कार्यालयको परिसर तथा गहिरो परेको जमिन खोज्नु पर्ने बाध्यता छ । कम हावा चल्ने ठाउँमा त्रिपालको अग्लो बार लगाएर हालसम्म थुप्रै पटक ब्याटमिन्टन खेल खेलाई सकिएको छ ।

अपर्याप्त भौतिक संरचना भएको ठाउँमा खेलेका ब्याटमिन्टन खेलाडीहरु क्षेत्रिय तथा राष्ट्रिय स्तरको खेलमा सहभागी हुँदा असहज हुने गरेको ब्याटमिन्टन खेलाडी जानकी पोख्रेलको भनाई छ । खुल्ला तथा खाली कोर्टमा खेलेका खेलाडीहरु ठुलो कोर्टमा खेल्दा आत्तिएर राम्रो खेल्न नसकेको अर्का खेलाडी सोनाम लामाले आफ्नो अनुभव सुनाउनुभयो । केही खेलाडीहरुको क्षमता हुँदा हुँदै पनि उपयुक्त हल नभएकोले खेल क्षमता विकास गर्न नसकेको खेलाडीहरुको भनाई छ ।

जिल्लामा ब्याटमिन्टन खेलाउँदा ब्यक्तिगत सहयोग सङ्कलन गरेर खेलमैदान ब्यवस्थापन गर्नु परेको जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष प्रविन शेर्पाले बताउनुभयो । एउटा खेलको लागि मैदान तयार गर्दा करिब ६० हजार रुपैयासम्म खर्च हुने उहाँको भनाई छ । हरेक पटक बनाएको खेल मैदान खेल सकिएसँगै भत्काउनु परेकोले अर्को पटकको खेलमा पनि उस्तै खर्च लाग्ने शेर्पाको भनाई छ । हरेक पटक रकम सङ्कलन गरेर खेल खेलाउनु पर्दा दाताहरु पाउन मुस्कील परेको जिल्ला ब्याटमिन्टन संघका सचिव मुनुहाङ गुरुङले बताउनुभयो ।

ब्याटमिन्टन प्रति युवाहरुको आकर्षण बढे पनि कबर्ड हल बनाउन कसैले चासो नदेखाएको ब्याटमिन्टन खेलाडीहरुको आरोप छ । जिल्ला खेलकुद समितिले समेत फुटबल र भलिबललाई जति पनि महत्व नदिएको उनीहरुको आरोप छ । जिल्लामा ब्याडमिन्टनको विकासको लागि उचित भौतिक पुर्वाधारको विकास गर्नुपर्ने खेलाडीहरुको माग छ ।

 

सम्बन्धित समाचार