चैनपुर मेयर गोल्डकपको उपाधी खाँदबारीलाई




सङ्खुवासभा, बैशाख २१ गते । जिल्लाको चैनपुरमा सम्पन्न एक नम्बर प्रदेश स्तरिय चैनपुर मेयर कप फुटबल प्रतियोगिताको उपाधी घरेलु टिम खाँदबारी नगरपालिकाले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा पाँचखपन नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै खाँदबारीले उपाधी जितेको हो ।

खेलको पहिलो हाफको २९ औं मिनेटमा तीन नम्बर जर्सीका अजय मार्टिनले गरेको गोलले नै खाँदबारीलाई जित दिलाएको हो । पाँचखपनले पनि पटक पटक गोल गर्ने अवसर पाए पनि अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनु परेको छ । उपाधि जितेसँगै खाँदबारी नगरपालिकाले ट्रफी, मेडल र नगद तीन लाख ३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गरेका छन् । उपविजेता पाँचखपन नगरपालिकाले पनि ट्रफी, मेडल र नगद दुई लाख २ हजार २ सय २२ रुपैयाँ हात पारेका छन् ।

खेलको म्यान अफ द म्याच खाँदबारी नगरपालिकाबाट खेल्ने मार्टिन घोषित गरेका छन् । खेलको सर्वोत्कृष्ठ खेलाडी पाँचखपन नगरपालिकाबाट खेल्ने मुस्तापा घोषित भएका छन् भने खाँदबारी नगरपालिकाका विष्णु चौधारीलाई उत्कृष्ठ गोल रक्षकको पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, चैनपुर नगरपालिकाका विकाश लिम्बु सर्वाधिक गोलकर्ता घोषित भएका छन् । उनीहरुलाई पनि ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको छ ।

एक साता अघि सुरु भएको खेलमा एक नम्बर प्रदेशका ८ जिल्लाका १२ टिमको सहभागिता रहेको थियो । विजेता टिम खाँदबारी नगरपालिकाले ४ जना र उपविजेता बनेको पाँचखपन नगरपालिकाले ३ जना नाईजेरियन खेलाडीहरु समावेश गराएका थिए ।

सम्बन्धित समाचार