अरुण तेश्रोको सुरुङबाट ३९ घण्टा पछि सकुसल उद्धार




सङ्खुवासभा, जेठ ३ गते । गत शुक्रबार अरुण तेश्रोको ड्याम साईड निर्माण स्थल फ्याक्सीन्दा दोभानको सुरुङमा पहिरोले थुनिएका चार जनालाई सकुशल उद्धार गरिएको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ३९ घण्टापछि अहिले उनीहरुलाई उद्धार गरिएको हो ।

घटना लगत्तैबाट उद्धार गर्न सुरक्षाकर्मी खटाएर पहिरो पञ्छाउने काम थालिएको थियो । लगातारको बर्षा र पहिरो झरिरहने समस्याका कारण उद्धारमा ढिलाई भएको थियो । पहिरो पञ्छाउने विष्फोटक पदार्थको प्रयोग गर्दै अर्को बैकल्पीक बाटो बनाएर उत्खनन् गरिएको थियो । सुरुङ भित्रै थुनिएकाहरुलाई जिवित उद्धार गर्न सकिने उद्धेश्यका साथ उद्धार कार्यमा तिब्रता दिईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम सारु मगरले जानकारी दिनुभयो । उनीहरु सकुशल उद्धार गर्न सकिने सम्भावना भएकोले घटनास्थलमा स्वास्थ्यकर्मी, अक्सीजन र औषधी तयारी अवस्थामा राखिएको थियो । पुरिएको सुरुङको प्रवेश मार्गसम्म पुग्दा उनीहरु सकुसल भेटिएका हुन् ।

उनीहरुको घटना स्थलमा नै सामान्य उपचार तथा स्वास्थ्य परिक्षण गरिएको छ । थप उपचार आवश्यक परे जिल्ला अस्पताल खाँदबारी ल्याईने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । सुरुङ भित्र थुनिनेहरुमा कालीकोट जिल्ला सिउना गाउँपालिका ४ का ३२ बर्षिय प्रदिप शाही, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका १ का ४४ बर्षिय प्रेम परियार, भारतको झारखण्डका सुधन मुण्डा र भारतकै बिहार प्रान्तकै नन्द किशोर सुरुङ भित्र पुरिएका हुन् । दुई नेपालीहरु लेबर हुन् भने भारतीयहरु ईलेक्ट्रिकल टेक्नीसियन हुन् ।

सम्बन्धित समाचार